अब पाथीभरा मन्दिरको टीका प्रसाद पनि हुलाकमार्फत सम्वन्धित मार्गकर्ताको घर–घरमै पु-याइने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । अब ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद पनि हुलाकमार्फत सम्वन्धित लाभग्राहीकै घर–घरमै पु-याइने भएको छ ।

बिहीबार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले पहिलो सेवाग्राहीको रुपमा पाथीभरा मन्दिरको टीका प्रसाद हुलाकमार्फत धनुषा पठाउनु भएको छ । दाहाल धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीबाट असार २८ गते देखि ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहनु भएको छ् । पाथीभरा क्षेत्र विकास समिति र जिल्ला हुलाक कार्यालयबिच बिहीबारै मन्दिरको टीका प्रसाद हुलाकमार्फत घर–घरमै पु-याइने कार्यका लागि द्धिपक्षीय सम्झौता भएको थियो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ र जिल्ला हुलाक कार्यालय ताप्लेजुङका निमित्त प्रमुख हेमनाथ पाण्डेबिच मन्दिरको टीका प्रसाद हुलाकमार्फत घर–घरमै पु-याउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

क्षेत्र विकास समिति र हुलाक कार्यालयबिच भएको सम्झौता अनुसार प्रजिअ दाहालले बिहीबार पाथीभरा मन्दिरको टीका प्रसाद हुलाकमार्फत धनुषा पठाउनु भएको छ । कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङबाट मधेस प्रदेशको धनुषामा पाथीभरा मन्दिरको टीका प्रसाद पठाउँदा धार्मिक तथा सामाजिक सद्भाव समेत कायम हुने तथा एकअर्काबिच भातृत्व र भाइचारा सम्वन्धमा समेत सुधार ल्याउने देखेर आफुले पहिलो सेवाग्राहीको रुपमा पाथीभरा मन्दिरको टीका प्रसाद जिल्ला प्रशासन कार्यालय धनुषामा पठाएको प्रजिअ दाहालले जानकारी दिनुभयो । धनुषामा प्रसिद्ध जानकी मन्दिर रहेको छ । यो कार्यले जानकी मन्दिर सहितका प्रसिद्ध मठमन्दिरको टीका प्रसाद समेत हुलाकमार्फत ताप्लेजुङ सहितका अन्य जिल्ला आउन सक्ने आधार समेत खुलेको छ ।

क्षेत्र विकास समिति र जिल्ला हुलाक कार्यालयबिचको सम्झौता पत्र अनुसार क्षेत्र विकास समितिले माग भए अनुसारको टीका प्रसाद सेवाग्राहीलाई उपलब्ध गराउने छ । यसको शुल्क बारे केहि उल्लेख नभएपनि मन्दिरमा उपलब्ध भएसम्मको टीका प्रसादको व्यवस्थापन क्षेत्र विकास समितिले गर्ने छ । टीका प्रसाद माग गर्ने पक्षले क्षेत्र विकास समितिसंग सम्पर्क स्थापित गरी त्यसवापतका सबै शुल्कका बारेमा बुझ्न सक्ने प्रवन्ध गरिएको छ । झोलिलो,तैलिय र टुटफुट हुने,धारिलो र तापक्रमले असर पार्ने सामग्री भने हुलाकमार्फत प्रेषण नहुने भएको छ ।

Similar Posts