मेयर मादेनको पत्रकारलाई आग्रह‘पाथीभरामा बन्दै आएको केवलकार किन रोकियो,प्रधानमन्त्रीलाई सोधिदिनुहोस्’
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २० । ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा केवलकार निर्माण प्रकृया किन रोकियो भनेर प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न राख्न ताप्लेजुङका पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।
नेपाल प्रेस युनियन ताप्लेजुङको छैटौं जिल्ला अधिबेशनको उद्घाटन सत्रमा बोल्दै मादेनले पाथीभरा केवलकार निर्माणको ७० प्रतिशत कार्य पूरा भईसकेको र आधुनिक विकासका साधनलाई तीव्र गतिमा पूरा गर्नुपर्नेमा बर्तमान सरकारले दायित्व बिर्सिएको दावी गर्नुभयो । आधिकारिक पत्र बेगर स्थानीय प्रशासनलाई दबाबमा राखेर पाथीभरामा निर्माणाधिन केवलकार परियोजना रोकिएको भन्दै मादेनले रोष प्रकट गर्नु भएको छ । जनताबाटै निर्वाचित जनप्रतिनिधिहरुमार्फत बनेको एउटा सरकारले दिएको अनुमति अविच्छिन्न उत्तरदायी संस्थाको रुपमा रहेको अर्को सरकारले नमान्ने कुरा शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने मादेनको भनाई थियो ।
मादेनले पत्रकारहरुले पाथीभरामा केवलकार निर्माण प्रकृया किन रोकियो भन्ने बारेमा सरकारलाई प्रश्न गरेर उचित जवाफ माग्नुपर्ने समेत बताउनुभयो । केवलकार ताप्लेजुङका लागि मात्र नभई सिङ्गो देशको अर्थतन्त्र सुद्रिढ गर्न पनि आवश्यक रहेको नगरप्रमुख मादेनको भनाई थियो । सरकारको आधिकारिक पत्र बेगर स्थानीय प्रशासनलाई प्रधानमन्त्री र मन्त्रीको सचिवालयका केहि सदस्यहरुको दबाबमा केवलकार निर्माण प्रकृया रोकिएको हुनसक्ने मादेनको आशंका थियो । मादेनले आफुहरुले ताप्लेजुङका सञ्चारकर्मी र सञ्चारसंस्थाहरुलाई गर्ने सहयोगमा कुनै कमी नदिने बचन समेत दिनुभयो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले आफुहरु स्थानीय सञ्चार संस्था र सञ्चारकर्मीको संरक्षण र प्रर्वद्धनमा विगत झैं निरन्तर लागि रहने बताउनुभयो । कार्कीले स्थानीय सञ्चार संस्थाहरुप्रति गर्ने सहयोगमा कुनै कमी हुन नदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।