पाथीभरा मन्दिर क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री बितरण तथा सेवन गरे कारवाही हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १० । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री बितरण तथा सेवन गरे कारवाही हुने भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै अहिले पनि पाथीभरा मन्दिर क्षेत्रमा आंशिक रुपमा मदिराजन्य पदार्थको बिक्री बितरण भइरहेको पाईएकोले त्यसो नगर्न आग्रह गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री बितरण तथा सेवनमा गरिएको प्रतिवन्धको कडाई कार्यान्वयनका लागि आग्रह गर्नु भएको छ । उहाँले पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री बितरण तथा सेवन गरे प्रचलित कानुन बमोजिम कारवाही हुनेतर्फ समेत सचेत गराउनु भएको छ ।

यही असोज ६ गते फुङलिङ नगरपालिका,जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,कोष तथा लेखा नियन्त्रक कार्यालय र पाथीभरा क्षेत्र विकास समितिमार्फत पाथीभरा क्षेत्रका होटल तथा बजार पसलको अनुगमन भएको थियो । सो अनुगमनका क्रममा अनुगमन टोलीले माथिल्लो फेदी र बलुडाँडा आसपासका केहि पसलबाट स्थानीय उत्पादनको सहित मदिराजन्य पदार्थ फेला पारी नष्ट गरेको थियो ।

क्षेत्र विकास समितिले सो अनुगमनबाट पाथीभरा क्षेत्रमा अहिलेपनि आशिंक रुपमा मदिराजन्य पदार्थको बिक्री बितरण भइरहेको पाईएको निश्कर्ष निकाल्दै अबपनि उक्त कार्य दोहोरिए कानुन अनुसार कारवाही हुने बताएको हो । क्षेत्र विकास समितिको मिति २०८१ साल बैशाख २ गतेको निर्णय अनुसार २०८१ बैशाख ४ गतेबाट पाथीभरा मन्दिर क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री बितरण,प्रयोग र सेवन गर्न पाइदैंन ।

Similar Posts