शैक्षिक गुणस्तर खस्किनुको कारण खोज्दै फक्ताङ्लुङ

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १९ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शैक्षिक गुणस्तर खस्किनुको कारण खोज्न सुरु गरेको छ । सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्ने योजनासहित गाउँपालिकाले गुणस्तर खस्किनुको मुख्य कारण खोजी गर्न सुरु गरेकोे हो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) सहितका पदाधिकारीले विद्यालय विद्यालयमा पुगेर शैक्षिक गुणस्तर सुधारका उपायबारे सरोकारवालासँग छलफल गर्न थालेको छ । खस्कदो शैक्षिक गुणस्तर उकास्नका लागि स्थानीय सरकार, शिक्षक, अभिभावक लगायतका सरोकारवालाले निभाउनुपर्ने भूमिकाका विषयमा छलफल सुरु गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार शनिबार वडा ४ इखाबुस्थित सेवालुङ माध्यमिक विद्यालयमा पुगेर स्थानीय सरोकारवालासँग शैक्षिक गुणस्तर खस्किनुको कारणबारे सर्वेक्षण र विश्लेषणसहित छलफल गरिएको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकरी, अभिभावक, वडाका जनप्रतिनिधि लगायतको सहभागितामा अन्तर्क्रियात्मक छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।
छलफलका क्रममा सामूदायिक विद्यालयको गुणस्तर खस्कँदै गएकोप्रति सबैले चिन्ता व्यक्त गर्नुभएको बताइएको छ । मौजुदा शैक्षिक नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्बन्धित पक्ष तथा सरोकारवालाको भूमिका लगायतका विषय केन्द्रित छलफल भएको फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य मिङमाडण्डु शेर्पाले जानकारी दिनुभयो ।
शैक्षिक गुणस्तर सुधार्नका लागि गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयमा पुगेर गुणस्तर खस्किनुको कारणबारे छलफल गरिने जनाएको छ । शैक्षिक गुणस्तर खस्किनुको मुख्य कारण पत्ता लगाउन अधिकतम् पहल गर्ने र गुणस्तर सुधारको थप योजना बनाई कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारकै योजनाअन्तर्गत यसअघिदेखि नै उच्च अध्ययन गर्ने पालिकाभित्रका विद्यार्थीलाई सत्–प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।