सम्पादक अधिकारी र पूर्व-जिविस सभापति सेन्दाङ सम्मानित
-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १० । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को प्रवर्द्धन गर्नमा योगदान पु¥याउने दुई व्यक्तिलाई सम्मान गरेको छ । पाथीभराको प्रवर्द्धनमा योगदान गर्ने एकजना पत्रकार र समाजसेवी व्यक्तित्वलाई पाथीभरा क्षेत्र विकास समितिले सम्मान गरेको हो ।
सम्मानित हुनेमा पत्रकार खगेन्द्र अधिकारी र तत्कालीन जिल्ला विकास समितिका सभापति दीपेन्द्रकुमार सेन्दाङ रहनुभएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार ११ हजार रुपियाँ नगद राशिसहित पत्रकार अधिकारी सम्मानित हुनुभएको छ ।
यस्तै पूर्व जिविस सभापति एवम् समाजसेवी व्यक्तित्व सेन्दाङलाई भने कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँकाअनुसार दुवै जनालाई समितिका अध्यक्ष रक्की थेबे सहितका पदाधिकारीले शुक्रबार सम्मान गर्नुभएको हो ।
जिविस सभापति रहँदा पाथीभरालाई राष्ट्रिय सम्पदाको रुपमा संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्नुभएकाले सेन्दाङलाई योगदानको कदर गर्दै सम्मान गरिएको समितिले जनाएको छ । त्यस्तै पत्रकार अधिकारीलाई पत्रकारिताको माध्यममार्फत पाथीभराको प्रचारप्रसार र प्रवर्द्धन गर्न योगदान पु¥याएकोमा सम्मान गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिद्वारा सम्मानित सेन्दाङ हाल राजनीतिमा क्रियाशील हुनुहुन्छ । त्यसैगरी पत्रकार अधिकारी नागरिक दैनिकको जिल्ला समाचारदाता र स्थानीय उज्यालो पोष्ट दैनिक पत्रिकाको सम्पादक रहनुभएको छ ।