दोभान बजारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ७ मुख्य सहित १३ बुँदे प्रतिबद्धता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २१ । ताप्लेजुङको दोभान बजारलाई सफा,सभ्य र शान्त पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न ७ मुख्य सहित १३ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।

मेरिङदेन गाउँपालिकाले पत्रकार महासंघ ताप्लेजुङको सहजीकरणमा शनिवार आयोजना गरेको दोभान बजारको पर्यटन प्रवद्र्धन बिषयक अन्तरकृया तथा जनतासंग जनप्रतिनिधि कार्यक्रममार्फत जनप्रतिनिधिसहित सरोकारवालाबाट उक्त प्रतिबद्धता व्यक्त भएको मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले जानकारी दिनुभयो । प्रतिबद्धता अनुसार दोभान बजारबासीले आफ्नो घर तथा आसपासको फोहोरमैला संकलनको दायित्व लिनेछन् भने पालिका तथा वडाले फोहोरमैला व्यवस्थापनको उचित कार्ययोजना बनाई लागुगर्ने छन् । दोभान बजारमा पालिकाले तत्काल सिसी क्यामेराको मर्मतसम्भार तथा थप गर्ने योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त भएको छ । प्रतिबद्धता अनुसार दोभान बजारमा ‘एक घर एक गमला तथा एक घर,एक बिरुवा कार्यक्रम कार्यान्वयनमा ल्याईने छ ।

दोभान बजार स्थानीय धार्मिक तथा साँस्कृतिक विविधतालाई ध्यानमा राखी विविधतापूर्ण संस्कार तथा संस्कृति झल्कने तस्बिर तथा आवरणहरुले सजाउने प्रकृयाको थालनी गरिने छ । दोभान बजारको पर्यटकीय आवश्यकता तथा महत्वलाई संरक्षण गर्न पर्यटकीय क्षेत्रमा आवद्ध स्थानीय सरोकारवाला समेतको सहभागितामा पालिकाले होम स्टे सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने प्रतिबद्धता जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि दोभान बजारमा सञ्चालित होटल पसललाई न्यूनतम् व्यावसायिक मापदण्डले सुसज्ज्ति गर्ने प्रतिबद्धता व्यक्त भएको छ । तमोर नदी तथा मैवाखोलाको किनारमा रहेको दोभान बजारका बस्तिहरुको जोखिमलाई मध्यनजर गर्दै पालिका आफैं,प्रदेश सरकार र संघीय सरकारको सहयोगमा नदी तथा खोला तटिय क्षेत्रमा तटबन्ध थप तथा निर्माण कार्यलाई व्यवस्थापन गर्न गाउँपालिकाले अग्रसरता लिने भएको छ । तमोर नदी तथा मैवाखोला क्षेत्रमा रहेका माछा सहित जलचरहरुलाई करेन्ट लगाई मार्ने कार्यलाई निरुत्साहित गर्ने प्रतिबद्धता सरोकारवालाले व्यक्त गरेका छन् ।

मेरिङदेन गाउँपालिकाले दोभान बजारमा होटल व्यवसायीलाई होटल व्यवस्थापन तालिम सहितका बिषयमा दक्षता अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । दोभान बजार क्षेत्र आसपास पदमार्ग निर्माण तथा व्यवस्थापनमा समेत ध्यान दिने पालिकाले प्रतिबद्धता व्यक्त गरेको छ । वडा तथा पालिकाकोतर्फबाट फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइट निर्माणको कार्य अघि बढेमा दोभानबासीले फोहोरलाई कुहिने,नकुहिने,सीसाजन्य जस्ता बिषयमा फोहोरको वर्गिकरण गरी व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाले ¥याफ्टिङ सञ्चालनको सम्भाव्यता अध्ययन सहितको प्रकृया आरम्भ गर्ने बताएको छ । स्थानीय सरोकारवालाले सिसाजन्य बोतल सहितका सामग्री जतासुकै नफ्याँकी उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा पालिका उपाध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ,मेरिङदेन गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्वो,वडा सदस्यहरु मनकुमार शेर्पा र चन्द्रमाया कामी सहित स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।

Similar Posts