नेपाली काँग्रेस ताप्लेजुङमा ४२ सय बढी क्रियाशिल सदस्य कायम,वडा अधिबेशन असोज ४ मा हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १ । १५ औं राष्ट्रिय महाधिवेशनका लागि नेपाली काँग्रेस ताप्लेजुङमा ४ हजार २ सय १५ जना क्रियाशिल सदस्य कायम भएका छन् । यो नयाँ क्रियाशिल सदस्यता र अद्यावधिक सदस्यता सहितको विवरण हो ।
नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार ताप्लेजुङका ६१ वटै वडामा असोज ४ गते वडा अधिबेशन हुने भएको छ । वडा अधिबेशनले वडा कार्य समितिमा नयाँ नेतृत्व चयन गर्नेछन् भने क्षेत्रीय प्रतिनिधि समेत छनौट गर्नेछन् ।
नेपाली काँग्रेसको बिधान तथा १५ औं महाधिबेशनको निर्वाचन कार्य निर्देशिका अनुसार वडा अधिबेशनबाट १ सय ५० जनासम्म क्रियाशिल सदस्य भएमा महिला ३,खुल्ला ५,पेशागत बिषयविज्ञ १,३५ बर्ष मुनिका ३,समानुपातिक ६,दलित,अपाङ्गता र श्रमिक क्लष्टरबाट १–१,प्रजातन्त्र सेनानी,सहीद परिवार र द्धन्द प्रभावितबाट २ गरी कुल २३ जना क्षेत्रीय प्रतिनिधि छानिने छन् ।
२ सय ५० जनासम्म क्रियाशिल सदस्य भएमा क्षेत्रीय प्रतिनिधिको संख्या ३२,३ सय ५० जनासम्म क्रियाशिल सदस्य भएमा ४१,४ सय ५० जनासम्म भएमा ५०,५ सय ५० जनासम्म भएमा ५९,६ सय ५० जनासम्म भएमा ६८ र ७ सय ५० माथि भन्दा माथि भएमा ७५ जना क्षेत्रीय प्रतिनिधि छनौट हुनेछन् । सम्वधित वडाका सभापति पदेन क्षेत्रीय प्रतिनिधि हुने बिधानको व्यवस्था रहेको छ ।
नेपाली कांग्रेसको विधान (एघारौँ संशोधन) २०१७ को दफा ११ को उपदफा २ मा महाधिवेशन प्रतिनिधिसम्बन्धी विशेष व्यवस्था गरिएको छ । जसअनुसार प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ कम्तीमा चार महिलासहित १४ जना,श्रमिक वा पेसागत क्षेत्रबाट दुईजना,अपांगता भएका व्यक्ति एकजना र समानुपातिक आधारमा १० जना प्रतिनिधि निर्वाचित हुनेछन् । यसका साथै विधानले ३५ वर्षमुनिका युवाका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीनजना प्रतिनिधि महाधिवेशनमा अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ ।