सम्भावित विपद् जोखिमको असर : फक्ताङलुङद्धारा अहेव र अनमीको परीक्षा तत्काललाई स्थगित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । निरन्तरको बर्षा र त्यसपछिको सम्भावित विपद्को कारण देखाउँदै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अनमी र अहेव पदको सेवा करारको परीक्षा स्थगित गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बूका अनुसार असोज ११ गतेका लागि तोकिएको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । बर्षाका कारण आवतजावतमा हुन सक्ने कठिनाईलाई मध्यनजर गर्दै तत्कालका लागि परीक्षा स्थगित गरिएको पालिकाले जनाएको छ । पालिकाले यहँ असोज २ गते (सहायक स्तर चौथो) अहेव र अनमी सेवा करारमा लिने गरी असोज ११ गते परीक्षा तालिका निर्धारण गरेको थियो । पालिकाले परीक्षाको मिति स्थगित बाहेक उक्त विज्ञापन सम्वन्धी अरु काम कारवाही साविककै सूचना अनुसार हुने जनाएको छ । पालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै बुधबार राति नै पालिका भरीका बिद्यालय असोज ९,१० र ११ गते तीनदिन बिदा दिने निर्णय गरिसकेको छ ।

पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले बर्षा हुने क्रम नरोकिएको भन्दै सम्भावित जोखिमबाट बच्न पूर्व सर्तकर्ताका र सावधानीका लागि आग्रह गर्नु भएको छ । पालिका क्षेत्रमा रहेका नदी तथा खोला किनारमा बस्तिहरुमा बिशेष सावधानी अपनाउन र पहिरोको जोखिम क्षेत्र ठानिएका नागरिकहरुलाई जोखिम कायम रहिञ्जेलसम्मका लागि सुरक्षित स्थानमा रहन पालिका अध्यक्ष लिम्बूले आग्रह गर्नु भएको छ । नदी तथा खोला किनारमा रहेका बस्तिहरुमा जोखिम सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बजार तथा बस्तिहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले माइकिङसहित सर्तकर्ता सूचना जारी गरेका छन् ।

नदी तथा खोला किनारमा रहेका जलविद्युत परियोजनामा कार्यरत जनशक्तिलाई नदी तथा खोलामा बढ्न सक्ने सम्भावित पानीको सतहका आधारमा सुरक्षित रहन आग्रह गरिएको छ । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले पानीको सतहमा हुनसक्ने घटबढलाई ध्यान दिएर बेलुकीको समयमा नदी तथा खोला किनार क्षेत्रमा निर्माणका कार्य नगर्न आग्रह गरिएको र दिउँसोको समयमा समेत सावधानी अपनाउन सूचित गरिएको जानकारी दिनुभयो ।

Similar Posts