मैवाखोलाले भन्यो‘सिन्धोलुङ झरना’को नाम बिगार्नु ऐतिहासिक महत्व र मुन्धुम बिपरित,मेरिङदेन पुरानै अडानमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ७ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मेरिङदेन गाउँपालिकाले‘मेरिङदेन झरना’ भनेर दावी गर्दै आएको झरना ‘सिन्धोलुङ झरना’भएको भन्दै नाम नबिगार्न आग्रह गरेको छ ।
मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले उक्त झरना सिन्धोलुङ झरना’भएको र मैवाखोलाको उद्गमस्थल सिन्धोलुङ ‘मैवामा पुः देन्’भनेर चिनिएको दावी गर्नु भएको छ । पालिका अध्यक्ष वनेमका अनुसार‘मैवामा पुः देन्’भन्नाले मैवाखोलाको उत्पतिस्थललाई बुझिन्छ । ‘सिन्धोलुङ झरना’ ऐतिहासिक महत्व र मुन्धुमसंग जोडिएको ठाउँ भएकोले यसलाई नाम परिवर्तन गरी ‘मेरिङदेन झरना’ नामाकरण गर्न कुनैपनि हालतमा नमिल्ने पालिका अध्यक्ष वनेमले बताउनु भएको छ । किरातीको भाषा,साहित्य,संस्कृति,इतिहास,भूगोल, गीत–संगीत,धर्म–दर्शन आदिको समग्र विवरण बताउने दस्तावेजलाई मुन्धुम भनिन्छ ।
मुन्धुम समग्र किरातीको आस्था एवं विश्वासको धरोहर मात्र नभई पहिचानको स्रोत तथा आधार पनि भएकोले मुन्धुमसंग जोडिएको ठाउँ ‘सिन्धोलुङ झरना’लाई ‘मेरिङदेन झरना’भनेर चिनाउनु इतिहाँसलाई बङ्ग्याउनु बाहेक केहि नहुने पालिका अध्यक्ष वनेमले दावी गर्नु भएको छ । अध्यक्ष वनेमले इतिहाँस र मुन्धुमलाई अपब्याखा गर्नु राम्रो नहुने पनि बताउनुभयो । ‘ऐतिहासिक महत्व बोकेको सिन्धोलुङ झरना’को नाम बिगार्ने काम नगरौं’पालिका अध्यक्ष वनेमले थप्नुभयो । उहाँले ‘सिन्धोलुङ झरना’मैवाखोला गाउँपालिकाको उद्गम स्थल भएको र उक्त झरना मैवाखोला गाउँपालिकामा पर्ने तथ्यमा कुनै अलमलमा नपर्न सबैलाई आग्रह गर्नु भएको छ ।
मैवाखोला थुम भनेर हालको थिङ्लाबु र सान्थाक्रा सम्म चिनिने विगत स्मरण गराउँदै पालिका अध्यक्ष वनेमले ऐतिहासिक महत्व र मुन्धुमसंग समेत जोडिएको ठाउँ र झरनाको नाम ‘सिन्धोलुङ’बाहेक अरु केहि हुन नसक्ने दावी गर्नु भएको छ ।‘ऐतिहासिक र मुन्धुमी स्थलको नाम बिगार्ने कार्य कदापी स्वीकार्य हुँदैन’‘सिन्धोलुङ झरना’को महत्व प्रकाश पार्दै पालिका अध्यक्ष वनेमले भन्नुभयो । ‘सिन्धोलुङ झरना’ऐतिहासिक र मुन्धुमी स्थल भएकोले उक्त झरनालाई महत्वका साथ समेटेर मैवाखोला गाउँपालिकाले पालिकाको लोगो समेत तयार पारेको वनमेले बताउनुभयो ।
‘सिन्धोलुङ झरना’ मैवाखोलाको ईतिहाँस भएकोले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुले उक्त झरनास्थलको विकास र प्रवद्र्धनका लागि सुरु गरेको कामलाई हाल वहाल रहेका जनप्रतिनिधिहरुले पनि महत्वका साथ काम गर्दै आएको अध्यक्ष वनेमको भनाई छ। झरनास्थल सम्म पुग्ने पदमार्ग बनाउने,ओसाङलुङ क्षेत्रको प्रवद्र्धन र संरक्षणका लागि काम गर्ने कार्य अहिले पनि निरन्तर रहेको पालिका अध्यक्ष वनेमले बताउनुभयो ।
उता मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले ‘मेरिङदेन झरना’को नाममा पालिका अडिग रहेको र यसको संरक्षण र प्रवद्र्धनका लागि पालिका र वडाकोतर्फबाट निरन्तर कामहरु भइरहेको जानकारी दिनुभयो ।‘हामी भन्दा अघि निर्वाचित जनप्रतिनिधिहरुको पहल र प्रयासबाट ‘मेरिङदेन झरना’को नाम दिई झरनाको संरक्षण र प्रवद्र्धनका कार्यहरु भइरहेका छन्’मेरिङदेन गाउँपालिका अध्यक्ष हाङगामले भन्नुभयो ।