आठराई त्रिबेणीको बजेट पास,भूमिहिनलाई पालिकाले जग्गा खरिद गरी व्यवस्थापन गर्ने योजना पनि पारित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २१ । गत असार ९ गते आगामी आर्थिक बर्षको नीति,कार्यक्रम र बजेट प्रस्तुत गरेको ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शनिवार उक्त नीति,कार्यक्रम र बजेटलाई पारित गरेको छ ।
पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले असार ९ गते पेश भई स्थगित भएको आगामी आवको बजेट तथा कार्यक्रम शनिवारको सभाले केहि संशोधन सहित सर्वसम्मतले पारित गरेको जानकारी दिनुभयो । असार ९ गतेको सभामा पालिका अध्यक्ष पोमूले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ राईले बजेट पेश गर्नु भएको थियो । पालिका उपाध्यक्ष आङबुहाङले सभामा ५२ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट पेश गर्नु भएको थियो । आठराई त्रिबेणी गाउँपालिकाले पालिका भित्र रहेका भूमिहिन,सुकुम्बासीलाई पालिकाले आफैं खरिद गरी जग्गा दिनेगरी नीति तथा कार्यविधि ल्याई पारित गरेको छ । पालिकाभरी अहिले २९ घर परिवार भूमिहिन तथा सुकुम्बासी रहेको प्रारम्भिक तथ्याङ संकलन भएको छ । छुट भएका भूमिहिनहरुको थप लगत संकलनको समयावधि प्रदान गरेर पालिकाले एकिन तथ्याङक समेत संकलन गर्ने भएको छ ।
पालिका अध्यक्ष पोमूले भूमिहिन र सुकुम्बासी परिवार रहेका वडा क्षेत्रमै जग्गा खरिद गरी बितरण गर्ने पालिकाको योजना रहेको जानकारी दिनुभयो । ‘भूमिहिन सम्वन्धी समस्याको समाधान स्थानीय सरकारको एकल अधिकारको रुपमा नरहेपनि कार्यविधिमार्फत व्यवस्थित गरी सुकुम्बासी र भूमिहिन सम्वन्धी समस्या समाधानको पहल लिएका हौं’बजेट पास भएपछि पालिका अध्यक्ष पोमूले भने । पालिकाले यसपटक कृषि क्षेत्रको बजेटलाई प्राथमिकता दिएको छ । कृषि क्षेत्रमा झण्डै १ करोड हाराहारी रकम बिनियोजन भएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो । शिक्षा र स्वास्थ्यमा पालिकाले प्राथमिक चरण पार गरेकोले यसपटक कृषि क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।
कफी खेतिको राम्रो सम्भावना भएको र उत्पादन र उत्पादकत्व समेत राम्रो रहेको पालिका क्षेत्रमा कफी खेति प्रवद्र्धन गर्दै किसानको उत्पादन पालिका आफैंले खरिद गरी ब्राण्डिङ गर्ने पालिकाको योजना अनुरुप नीति,कार्यक्रम र बजेट तय भएको छ । यसबाहेक कृषितर्फ सन्तोला र कागति सहितका उत्पादन बृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति रहेको छ । पालिकाले केहिसमय अघि गरेको सार्वजनिक सुनुवाईका क्रममा कृषि उत्पादन बृद्धि,भण्डारण र बजारीकरणका लागि किसानले माग गरेका थिए । सिचाँई,कृषि प्रविधि व्यवस्थापन सहितलाई ध्यान दिएर नीति र कार्यक्रम बनाईएको पालिकाले जनाएको छ । अघिल्लो बर्ष नीति मात्र बनाएको आठराई त्रिबेणीले आगामी आवमा अन्तरपालिका क्षेत्रबाट आफ्नो पालिकामा बसाँई सरी आउने प्रत्येक घरधुरीलाई नगद ५० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ ।