| | |

पाथीभरा सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज १४ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडक कालोपत्रे नहुँदा तीर्थयात्रीलाई सास्ती भएको छ । पाथीभरा सडकको सुकेटार–देउराली–काफ्लेपाटी खण्ड ठेक्का लागेपनि कालोपत्रेको काम नहुँदा तीर्थयात्रीलाई दर्शन यात्रामा सास्ती भएको हो ।
नेपालीहरुको चाडपर्व दसैँ तिहार नजिकिएसँगै पाथीभरा दर्शनको मुख्य सिजन (मौसम) सुरु भएको छ । दसैँ तिहारको मौसमसँगै पाथीभरा दर्शनका लागि बाक्लो सङ्ख्यामा उपस्थिति हुन थालेको तीर्थयात्रीले भने सडक कालोपत्रे नभएका कारण यात्रामा सास्ती खेप्नु परेको छ । कच्ची सडक भएकाले हिलो र धुलोका कारण तीर्थयात्रीले यात्रामा सास्ती हुने गरेको हो ।
पाथीभराको दर्शनमा वार्षिक लाखौं तीर्थयात्री आउने गर्दछन् । हालसम्म पनि पाथीभरा सडक भने कालोपत्रे नहुँदा तीर्थयात्रीको यात्रा असहज बनिरहेको छ । बर्खा मौसममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने भएकाले तीर्थयात्रीको यात्रा सकसपूर्ण रहने गरको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । सवारी साधनको चापका कारण बर्खामा सडक खाल्डाखुल्डी हुने र हिउँद मौसमपछि अत्यधिक धुलाम्मे बन्ने गरेकाले तीर्थयात्रीले सास्ती खेप्नुपर्ने अवस्था रहेको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेको भनाइ छ ।
कार्यकारी निर्देशक काफ्लेका अनुसार बेला–बेलामा क्षेत्र विकास समितिले सडकको खाल्डाखुल्डी पुर्ने र मर्मत सुधारको कार्य गर्दै आएको भए पनि सवारी साधनको चापलाई नथेग्ने गरेको छ । पाथीभरा दर्शनको मुख्य मौसमसँगै वर्षैभरि अर्थात बाह्रै महिना सडक सञ्चालनमा आउने गरेकाले निरन्तर मर्मत सम्भारको कार्य गरे पनि सुधार नआउने गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अझ बर्खा मौसममा अध्यधिक पानी पर्ने हुँदा कच्ची सडक बढी बिग्रने वा ध्वस्त हुने गरेको छ । खाल्डाखुल्डी पुर्ने लगायतका मर्मतको कार्य सधैं गरिरहे पनि बर्खामा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने सडक कालोपत्रे नगरेसम्म सुधार नहुने उहाँको भनाइ छ । पाथीभराको दर्शनमा आउने तीर्थयात्रीले लामो समयदेखि कच्ची सडकमा असहज यात्रा गरिरहनु दुःखद भएको पनि उहाँले बताउनुभयो ।
पाथीभराको सुकेटार–काफ्लेपाटी खण्ड १०.९६६ किलोमिटर दूरीको सडक कालोपत्रे गर्नलाई २०७८ सालमा नै ठेक्का लागेको हो । ताप्लेजुङस्थित तमोर करिडोर (सुभाङ खोला–दोभान–ओलाङ्चुङगोला) सडक योजना र कन्टेक निर्माण प्रालिबीच २०७८ पुस ११ गते कालोपत्रेका लागि सम्झौता भएको थियो । कन्टेक निर्माण प्रालिले २०८१ असार १२ गतेभित्र सडक कालोपत्रेको कार्य सक्नेगरी भ्याटसहित कुल ४१ करोड ७६ लाख ४७ हजार १७० रुपियाँमा निर्माणको जिम्मा लिएको हो । सडक योजनाले ठेक्का भने ९६ करोड ८९ लाख ६७ हजार २८० रुपियाँ बजेटमा आह्वान गरेको थियो ।
पाथीभरा सडक कालोपत्रे गर्नलाई ठेक्का लागिसकेको अर्थात निर्माणको जिम्मा भइसकेको भए पनि काम नगरिएकाले सडकको हविगत जस्ताको तस्तै रहेको छ । सुरुमा निर्माण कम्पनीले ठाउँ–ठाउँमा एक्साभेटर, जेसीभी लगायतका उपकरण प्रयोग गरेकाले सडक झनै बिग्रिएको स्थानीयले बताएका छन् । ठेक्काको जिम्मा लागेको करिव २१ महिना बित्दासमेत कामको प्रगति पाँच प्रतिशत पनि नभएको तमोर करिडोर सडक योजनाका सव–इन्जिनियर सुवास गुरुङ बताउनुहुन्छ ।
हाल सडक योजनाका निमित्त कार्यालय प्रमुखसमेत रहनुभएका गुरुङले बेला–बेलामा कामको निरीक्षण हुँदै आए पनि निर्माण कम्पनीले काम नगरेको बताउनुभयो । उक्त योजनाका लागि चालू आवमा बजेट न्युन भए पनि कामको प्रगतिको आधारमा रकम माग गर्न सकिने हुँदा बजेटको अभाव नहुने उहाँले बताउनुभयो । काममा ढिलासुस्ती भएको अवस्थाबारे सडक विभागमा निर्माण कम्पनी समेतको सहभागितामा निर्णायक छलफलको तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
सुरुमा कन्टेक निर्माण प्रालिका प्रवन्ध निर्देशक गणेश मैनालीले ठेक्का सम्झौताको समयअगावै कालोपत्रेको काम सक्नेगरी निर्माणको कार्यलाई तीब्रता दिइने बताउनुभएको थियो । तर, सम्झौता अवधि सकिनलाई करिव नौ महिना बाँकी रहँदा प्रगतिमा मापन गर्न मिल्नेगरीसम्म निर्माणको काम भएको छैन । बर्खा मौसम सकिनासाथ पाथीभरा दर्शनको समय, काम गर्ने जनशक्ति र निर्माण सामग्रीको अभावका कारण काममा ढिलाई भइरहेको निर्माण कम्पनीका इन्जिनियर मदन कठायतले बताउनुभयो ।
ढुङ्गा, बालुवा लगायतका निर्माण सामग्री अभाव रहेको र उक्त सामग्रीहरु टाढादेखि ल्याउनुपर्ने अवस्था रहेको कठायतले बताउनुभयो । अब निर्माणको कार्य दशैँ तिहार अघि सुरु गर्ने स्थिति नरहेको पनि उहाँको भनाइ छ । यता धेरै रकम घटेर ठेक्का लगाएकाले स्वीकृत बजेटले काम सम्पन्न नहुने र सोही कारण ठेकेदारले काम नगरी भाग्न खोजिरहेको स्थानीयले आशंका गर्न थालेका छन् । बर्खामा झरी र हिउँदमा हिमपातका कारण चिसोले काम गर्न नसकिने हुँदा बर्खा मौसम सकिनसाथ काम सुरु गर्नुपर्नेमा त्यसो नगरिएको स्थानीयले बताउँछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts