५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनाद्धारा राष्ट्रिय प्रसारण लाइनमा विद्युत समाहित गर्न प्रकृया सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ५ । ताप्लेजुङमा निर्माणाधिन युनाइटेड मेवाखोला जलविद्युत आयोजनाद्धारा उत्पादित ५० मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्न बिहीबारबाट प्रसारण लाइनका तारहरुमा लाइन चार्ज गर्न थालिएको छ ।
आयोजनाका साइट इञ्चार्ज आसलाल केदेम लिम्बू(आशिष)का अनुसार विद्युत प्रसारण लाइनका तारहरुमार्फत विद्युत प्रवाहको अवस्था मापन र चेकजाँचको कार्य सुरु भएको हो । प्रसारण लाइनका तारहरुमार्फत विद्युतीय प्रवाह ठीक गतिमा भइरहेको भए उत्पादित विद्युत अब नेपाल विद्युत प्राधिकरणको मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुस्थित १३२ केभिएको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्न सकिने छ ।‘पहिला प्रसारण लाइनका तारमार्फत विद्युत प्रवाह ठीक गतिले भइरहेको छ की छैन भन्ने प्राविधिक अध्ययन हुने छ,चेकजाँचका क्रममा नतिजा राम्रो आए उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने गृहकार्य हुने छ’लिम्बूले भन्नुभयो । उहाँले प्रसारण लाइनका तारहरुमा लाइन प्रवाह गरी चेकजाँचको क्रम सुरु भएकोले निर्माण गरिएका टावरहरुमा चढ्ने तथा तारबार छुने कार्य नगर्न र तार तथा टावरको नजिक नजान आग्रह गर्नु भएको छ । मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सिमाना भई बग्ने मेवाखोलाबाट युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत उत्पादनको कार्य गरेको हो ।
आयोजनाको विद्युत गृह रहेको स्थान मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको माटेदेखि ढुङ्गेसाँघु सव–स्टेसनसम्मको ८ किलोमिटर दूरीमा २८ वटा टावर निर्माण गरी उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्न ढुङ्गेसाँघुस्थित १३२ केभिएको सबस्टेसनसम्म लग्नेगरी पोल तथा विद्युतीय तारबार व्यवस्थापनको काम गरिएको छ । आयोजनाको मुहान मुहान(बाँध)भने मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमा र मिक्वाखोला गाउँपालिका वडा नं ३ लिबाङको पुछार नावा क्षेत्रमा रहेको छ । आयोजनाको कुल लागत ९ अर्ब रुपैयाँ रहेकोमा कुल लागतको ७५ प्रतिशत (७ अर्ब रुपैयाँ)बैंकको ऋण लगानी रहेको छ । बाँकी २५ प्रतिशतले हुन आउने २ अर्ब कम्पनीका प्रवद्र्धकहरूको स्वपुँजी(ईक्वीटी) रहेको छ । आयोजना झण्डै ५ बर्ष अघिबाट निर्माण कार्य सुरु भएको थियो ।
आयोजनाका लागि करिव ४ हजार ८ सय मिटर लम्बाईको मुख्य सुरुङ मार्ग रहेको छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट घन्टा गरी कुल ३०३.०११ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ । यो आयोजना सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ‘सुपर सिक्स’ आयोजना मध्येको एक हो । सुपर सिक्स अन्तर्गतका २३.५ मेगावाटको सोलु खोला र २५ मेगावाटको सिंगटी खोला निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । ८२ मेगावाटको तल्लो सोलु,१४.९ मेगावाटको मायाखोला र २४.१ मेगावाटको खारे खोला रहेका छन् ।