कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप मंसिर १३ बाट,समुदाय र संस्कृतिको संरक्षणमा ध्यान दिने आयोजकको भनाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २१ । ताप्लेजुङमा आउँदो मंसिर १३ देखि २० गतेसम्म कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता गर्न लागिएको हो ।

चासोक तङ्नाम सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार यसअघि पुरुष फुटबल प्रतियोगिता हुँदै आएकोमा यसबर्ष ताप्लेजुङ जिल्ला अन्तरपालिका स्तरीय महिला फुटबल आयोजना गरिएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले बढीमा ४ जनासम्म खेलाडी राष्ट्रिय अन्तराष्ट्रिय खेल खेल्ने खेलाडी समेत सहभागी गराउन पाउने भएका छन् । प्रतियोगिताको बिजेताले ट्रफीसहित २ लाख २ हजार ८२ रुपयाँ र उपविजेताले १ लाख २ हजार ८२ रुपैयाँ नगद पुरस्कार पाउने समितिका संयोजक कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिनुभयो । प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई जनही ५ हजार,बिधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही ८ हजार र सर्बोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने मादेनले बताउनुभयो । संयोजक थेबेका अनुसार मंसिर १९ गते बृहत्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । जुनु प्रसाँई सहितका कलाकारको उपस्थिति रहने टुङ्गो लागेको र अन्य कलाकारसंग छलफल भइरहेको थेबेले बताउनुभयो ।

कञ्चनजंघा फुङलिङ क्लव र ङावरक सङ्जुम्बो फुङलिङको आयोजनामा कार्यक्रम हुन लागेको हो । यसैबीच चासोक तङ्नाम सञ्चालन समितिले २०८१ सालको कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनको दौरानमा झण्डै ६ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको जनाएको छ । कोषाध्यक्ष मादेनले शुक्रवार अघिल्लो बर्षको प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गर्दै ३२ लाख ९० हजार ४ सय ९३ रुपैयाँ आम्दानी भएकोमा ३८ लाख ७९ हजार ७ सय १२ रुपैयाँ खर्च भई सञ्चालन समिति ५ लाख ८९ हजार २ सय १९ रुपैयाँ घाटामा गएको जानकारी दिनुभयो ।‘हामीले समुदाय र संस्कृतिको संरक्षण तथा ताप्लेजुङको पहिचानको निरन्तरताको लागि घाटा व्यहोरेर भएपनि कार्यक्रम सम्पन्न गरेका हौं’अघिल्लो बर्षको कार्यक्रम घाटामा गएपनि आफुहरुलाई कुनै गुनासो,चिन्ता र दुःख नलागेको बताउँदै कोषाध्यक्ष मादेनले भन्नुभयो । उहाँले मौलिक परम्परा र संस्कृति संरक्षणको कुरा घाटा र नाफासंग तुलना नहुने समेत दावी गर्नुभयो । उहाँले सहयोगी दाता महानुभावहरुलाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको निरन्तरताको लागि आवह्वान गर्नु भएको छ ।

मादेनका अनुसार अघिल्लो बर्ष देश बिदेशबाट व्यक्तिगत तथा सामुहिक रुपमा गरी कुल २१ लाख ९ हजार ६ सय २३ रुपैयाँ संकलन भएको थियो । अन्य सरकारी तथा गैर सरकारी र निजी क्षेत्रका संघसंस्था तथा दातृ निकायबाट ७ लाख ६४ हजार ५ सय ७० रुपैयाँ,टिकट बिक्रीबाट २ लाख १६ हजार ५ सय रुपैयाँ र साँस्कृतिक कार्यक्रम प्रवेश शुल्कबाट १ लाख ८४ हजार ८ सय रुपैयाँ संकलन भएको थियो । बिभिन्न किसिमका प्रतियोगिात्मक कार्यक्रम,साँस्कृतिक कार्यक्रम र कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सहितका कार्यक्रम सञ्चालन गर्ने क्रममा आम्दानीको तुलनामा खर्च बढी भएपछि घाटा व्यहोर्नु परेको समितिले जनाएको छ । कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता मंसिर १५ गते २२ गतेसम्म फुङलिङस्थित भानुजन माविमा भएको थियो । यसबर्ष पनि भानुजन माविकै खेल मैदानमा फुटबल प्रतियोगिता सहितका कार्यक्रम हुने भएका छन् ।

 

Similar Posts