खर्चको अभावमा छट्पटाउँदै क्यान्सरका रोगी
उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २४ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङका एक किशोर उपचार खर्चको अभावमा अहिले अस्पतालमा छट्पटाई रहेका छन् । हाल काठमाडौंस्थित सिभिल सर्भिस हस्पिटल अफ नेपाल नामक अस्पतालमा उपचार गराई रहनुभएका मेरिङ्देन गाउँपालिका–३, साविक खाम्लुङ–७ बस्ने १७ वर्षीय खगेन्द्र नाल्बोलाई ब्लडक्यान्सर भएपछि उहाँ खर्चको अभावमा अस्पतालमै छट्पटाई रहनुभएको हो ।
खाम्लुङकै पृथ्वी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत नाल्बो डेढ महिना अघिदेखि सिभिल सर्भिस अस्पतालको बेडमा उपचार खर्चको अभावले छट्पटाई रहेका बिरामीका आफन्त राजकुमार नाल्बोले बताउनुभयो । पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण क्यान्सर पीडितको अहिलेसम्म आवश्यक उपचार हुन नसकेको आफन्त नाल्बोको भनाइ छ ।
ब्लड क्यान्सरबाट थलिएका खगेन्द्रको उपचारका लागि अस्पतालले करिव १५ लाख रुपैयाँ जति खर्च लाग्ने भनेपछि सो रकम अहिलेसम्म जुटाउन नसक्दा उहाँको आवश्यक उपचार हुन सकेको छैन । यता रोगको उपचार हुने तर खर्च धेरै लाग्ने भएपछि बिरामीका बाबु सुखराज नाल्बो सहितका आफन्तले रकम भने जुटाउन थालेका छन् । मृत्युसँग संघर्ष गरिरहेका क्यान्सर रोगले ग्रसित छोराको उपचारमा सहयोग गरिदिनसुखराजले एनसीसी बैंकको खाता नं. १५३००००००९३१० सार्वजनिक गरेर सबैसँग अपिल गर्दै आउनुभएको छ ।
घरको आर्थिक अवस्था अत्यन्तै दयनीय भएका कारण छोरालाई बचाउने सोच राखेर उपचार खर्चका सबैसँग सहयोगको याचना गरिएको बिरामीका आफन्तले जनाएका छन् । सोहीअनुसार हाल देश विदेशमा रहेका आफन्त, नातेदार तथा सहयोगी मन भएकाहरुबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको र अझै आवश्यक रकम जुटिनसकेकाले सहयोग गरिदिन बिरामीका आफन्तले अनुरोध गरेका छन् । सहयोगी भावना राख्नेले ९८६५४८३८६१ नम्बरमा बिरामीका दाजु खड्ग नाल्बोलाई सम्पर्क गर्न सकिने बताएका छन् ।