एकअर्का बीच आरोप प्रत्यारोप बन्द गर्न नेकपाका दुई युवा नेताद्धारा कार्यकर्तालाइ आग्रह
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ४ । संघीय र प्रदेश सरकारका सदस्य समेत रहनु भएका नेपाल कम्युनिष्ट पाटी(नेकपा)का दुई युवा नेताले सडक र चौकमा एक अर्काबीच आरोप प्रत्यारोप नगर्न पार्टीका कार्यकर्तालाइ आग्रह गर्नु भएको छ । नेकपाका स्थायी समिति तथा पर्यटन मन्त्री योगेशकुमार भट्टराइ र पाँचथर जिल्ला इञ्चार्ज समेत रहनु भएका केन्द्रीय सदस्य तथा १ नं प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङ्वो यस्तो आग्रह गर्नु भएको हो । पर्यटनमन्त्री भट्टराइले चीनको संकेतबाट जुट्ने वा भारतको सकृयताबाट फुट्ने मान्यता नेकपाको शरिरमा फिट नहुने बताउनु भएको छ । फेसबुक पेजमार्फत आफ्नो धारणा राख्दै उहाँले नेकपाका हर सदस्यले अहिले ‘पानी’बनेर उभिन जरुरी रहेको औंल्याउनु भएको छ । ‘नेकपाका हर सदस्यले अहिले सर्वाधिक कठिन क्षण भोगिरहेका छन् । यो अवस्थामा प्रत्येक सदस्यका दुइहातमा पानी की पेट्रोल ? ’भट्टराइको प्रश्न छ । पेट्रोलले उर्जा मात्र प्रदान गर्ने भएकोले उर्जा र जीवन दुबै दिने पानीको साथ रोज्न उहाँले देशभरका नेकपा कार्यकर्ताहरुलाइ आग्रह गर्नु भएको छ ।
उहाँको संकेत यो बेला कुनै नेताको पछि लागेर पाटीको आन्तरिक जीवन समाप्त पार्ने गरी गरिने कार्यकर्ताको सत्तोसराप प्रति लक्षित छ । नेकपा घरेलु बीउ,मल र हावापानीले उम्रिएको हुर्किएको,बढेको र फैलिएको पार्टी भएकोले यसको विकास र बिस्तारमा कुनै आयातित मल,बीउ र प्रविधिको प्रयोग नभएको भन्दै उहाँले नेकपाको आन्तरिक बिवाद मिलाउन वा चर्काउन चीन र भारत कसैको उस्काहट नरहेको दावी गर्नु भएको छ नेकपा जैविक र नेपाली बिशेषताको पाटी भएको भन्दै उहाँले यसको विकास वा बिनाष दुबै नेकपा भित्रै अन्र्तनिर्हित रहने प्रष्ट्याउनु भएको छ । हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने पार्टी नेकपा नभएको भन्दै उहाँले ‘चीनलाइ हिमाल पारी र भारतलाइ मैदान पारी’को संकेतको रुपमा लिनु भएको छ । उता, पाँचथर जिल्ला इञ्चार्ज समेत रहनु भएका नेकपा केन्द्रीय सदस्य तथा १ नं प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङ्वो मौसमले सडकमा आरोप प्रत्यारोप नगर्न नेकपाका नेता तथा कार्यकर्तालाइ आग्रह गर्दै सचिवालयमै दुइ अध्यक्षको प्रस्ताव आउन सके सबैभन्दा राम्रो हुने औंल्याउनु भएको छ ।
उहाँले स्थायी कमिटि र केन्द्रीय कमिटिबाटै समस्याको समाधान खोज्न शीर्ष नेतृत्वलाइ आग्रह गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै आङ्वोले सहमतिमा पार्टीको महाधिबेशनबाट बिचार र नेतृत्वको टुङ्गो लगाउने र समानताको आधारमा नै आलोपालो सरकारको नेतृत्व गरी घोषणा पत्रको आधारमा सरकार सञ्चालन गर्ने सहमतिबाट पछाडि फर्कदा पाटीमा समस्या उत्पन्न भएको समेत औंल्याउनु भएको छ । तर,पाटीको बैठक र छलफलबाट कसैले भाग्न नहुने उहाँको थप तर्क समेत रहेको छ ।