|

फुङ्लिङ नगरपालिकाको बजेटको आकार बढेर करिव ६६ करोड हाराहारी पुग्यो,आन्तरिक आय लक्ष्य नजिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १७ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले बजेटको आकार साविक भन्दा बढाइ स्वीकृत केहि योजना तथा कार्यक्रमहरु शंसोधन गरेको छ । पूँजीगततर्फ भौतिक प्रगति २० प्रतिशत र बित्तीय प्रगति ३४ प्रतिशत भन्दा कम रहेको नगरपालिकाले यो कार्यकालको अन्तिम अर्थात् एघारौं नगरसभामार्फत बार्षिक स्वीकृत केहि योजना तथा कार्यक्रम शंसोधन गरेको हो । नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले दशौं नगरसभाद्धारा स्वीकृत केहि योजना तथा कार्यक्रम शंसोधन गर्नुलाइ ‘बाध्यता’भन्नु भएको छ । एघारौं सभामा शंसोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख भट्टराईले चालू आर्थिक बर्षको बजेटको आकार ६६ करोड ४१ लाख ६५ हजार २ सय १० रुपैंया पुगेको बताउनुभयो ।

गत असार १० गते नगरपालिकाले चालू आर्थिक बर्षका लागि ६३ करोड ७६ लाख १५ हजार २ सय १० रुपैंयाको बजेट पेश गरेको थियो । यो बीचमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा १ करोड ३७ लाख ५० हजार,सडक बोर्ड नेपालबाट ५५ लाख,प्रदेश सरकारबाट सर्शत अनुदानवापत ४३ लाख र संघीय सर्शत अनुदान ३० लाख रुपैंया प्राप्त हुन आइ बजेटको आकार बढेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एघारौं नगरसभामार्फत ७० वटा शीर्षकका कार्यक्रम र बजेटलाइ शंसोधन गरेको छ । उपप्रमुख भट्टराईद्धारा नगरसभामा प्रस्तुत बिबरण अनुसार नगरपालिकाले चालूतर्फ ५३ प्रतिशत र पुँजीगततर्फ ३४.२५ प्रतिशत रकम खर्च गरेको छ । चालूतर्फ नगरपालिकाको कूल बिनियोजित ३९ करोड ४० लाख ४१ हजार रुपैंया मध्ये २० करोड ८८ लाख ८० हजार रुपैंया खर्च गरेको छ ।

यस्तै पुँजीगततर्फ २४ करोड ३५ लाख ६४ हजार रुपैंयामध्ये ८ करोड ३४ लाख २७ हजार रुपैंया खर्च भएको नगरपालिकाले जनाएको छ । यसअघि सभा सुभारम्भ गर्दै नगरप्रमुख छत्रपति प्याकुरेलले कार्यकाल उत्तरार्धमा रहेको बताउँदै फरक दल र पृष्ठभूमीबाट आएपनि नगरको समृद्धिलाइ प्राथमिकतामा राखेर आफु नेतृत्वको जनप्रतिनिधिको टोलीले कार्य सम्पादन गरेको बताउनुभयो ।
आन्तरिक आय लक्ष्य नजिक
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार हरेक स्थानीय तहले आन्तरिक स्रोत परिचालनलाइ मुख्य प्राथमिकतामा राख्नुपर्ने हुन्छ। चालू आर्थिक बर्षको अन्तिम चौमासिक अवस्था कायम रहँदा फुङलिङ नगरपालिका आन्तरिक आय गर्नेमा लक्ष्य नजिक पुगेको छ । नगरपालिकाले चालू आर्थिक बर्षभरीमा १ करोड ८० लाख रुपैंया आन्तरिक आय गर्ने लक्ष्य राखेकोमा लक्ष्यको ७६.८८ प्रतिशत अर्थात् १ करोड ३८ लाख ३९ हजार ५ सय ४४ रुपैंया असुल गरेको छ । यो फागुन मसान्त सम्मको बिबरण हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts