| |

ताप्लेजुङका स्थानीय तहद्वारा अत्यावश्यक बाहेकका सेवा स्थगित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २० ।
ताप्लेजुङका स्थानीय तहले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरेका छन् । जिल्लाभित्रै कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि सोमबारदेखि नै स्थानीय तहले अत्यावश्यकबाहेक अन्य सेवा प्रवाह गर्न छोडेका हुन् ।
एक नगरपालिका र आठवटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको जिल्लामा अधिकांशले सार्वजनिक सूचना जारी गर्दै सेवा प्रवाह स्थगित गरेको जनाएका छन् । सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि अत्यावश्कबाहेक सबै सेवा स्थगित हुने जनाएको छ । सोमबार साँझदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञालाई पूर्ण पालना गर्दै फुङ्लिङ नगरपालिकाले सेवा स्थगित गरेको उपप्रमुख बमबहादुर भट्टराईले जनाकारी दिनुभयो ।
जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाले आइतबार साँझ नै सूचना जारी गर्दै फैलिँदै गएको कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी आगामी बैशाख २६ गते सम्मका लागि सेवा प्रवाह स्थगित गरेको जनाएको छ । मिक्वाखोला गाउँपालिकाले पनि आइतबार नै सूचना जारी गर्दै आउँदो आइतबार सम्मका लागि गाउँपालिकाले प्रवाह गर्ने सेवा स्थगित गरिएको जनाएको छ । गाउँ तथा वडापालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा र स्वास्थ्यसम्बन्धी बाहेक अन्य सबै सेवा स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै मेरिङ्देन र पाथीभरा याङ्वरक गाउँपालिकाले पनि सूचना जारी गर्दै अनिश्चित कालका लागि पालिकाको सेवा स्थगित गरेको जनाएका छन् । सोमबारदेखि नै लागू हुनेगरी अर्को सूचना नभए सम्मलाई अत्यावश्यक बाहेकका सेवा स्थगित गरेका छन् । पाथीभरा याङ्वरकको द्रूत प्रतिकार्य टोली (आरआरटी) को सोमबार बसेको बैठकले पालिका क्षेत्र हुँदै फुङ्लिङ नगरपालिकातर्फ सञ्चालन हुने सवारी आवागमनमा पनि प्रतिवन्ध गरेको छ । अत्यावश्कबाहेक यात्रुबाहक कुनैपनि सवारी साधन सञ्चालनमा अनिश्चित समयकालागि प्रतिबन्ध गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै सिरिजङ्घा, सिदिङ्वा, मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकाले पनि अत्यावश्यक बाहेक सेवाहरु प्रवाह नगर्ने जनाएका छन् । सेवा प्रवाह गर्दा सेवाग्राहीको भीडभाड हुने र सङ्क्रमण गाउँ–गाउँसम्म फैलिन सक्नेभन्दै तत्काललाई सबै सेवाहरु स्थगित गरेको पालिकाहरुले उल्लेख गरेका छन् । स्थानीय तहका अनुसार योजनासम्बन्धी सम्पूर्ण कार्यहरु र वडाबाट प्रवाह गरिने सिफारिस तथा पञ्जीकरणसम्बन्धी सेवाहरु स्थगित गरिएका छन् ।

ताप्लेजुङमा निषेधाज्ञा लागू
यसैबीच ताप्लेजुङ सदरमुकाममा एक सातासम्मलाई निषेधाज्ञा (कर्फ्यु) लागू गरिएको छ । सोमबार साँझ ६ बजेदेखि आगामी बैशाख २७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लगाइएको हो । निषेधाज्ञा जिल्ला सदरमुकाम अवस्थित फुङलिङ नगरपालिकाभित्र मात्र लागू हुने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।
प्रअिज पाण्डेका अनुसार निषेधाज्ञाको अवधिमा १० वर्षभन्दा कम उमेर र ६० वर्षभन्दा माथिको उमेर समूहका कोही पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन् । अत्यावश्यक कामका लागि भने अनुमति लिएर मात्र घर बाहिर निस्कन सक्ने पाण्डेले बताउनुभएको छ । यता निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता आठ दिनको अवधिमा जिल्लामा तीन जनाले सङ्क्रमणकै कारण ज्यान गुमाइसकेका छन् भने सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गइरहेका छन् । जिल्लामा सक्रिय सङ्क्रमित करिव २० जना रहेका छन् भने आइतबार र सोमबार गरी दुई सय ४१ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाएको र रिपोर्ट आउँदा सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने सम्भावना जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts