संविधानसभा सदस्य मादेन र पूर्व पालिका उपाध्यक्ष ताम्लिङसहितका व्यक्ति श्रम संस्कृति पार्टीमा प्रवेश
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १७ । संविधानसभा सदस्य सञ्चपाल मादेन र सिदिङ्वा गाउँपालिकाका तत्कालिन उपाध्यक्ष जीवन ताम्लिङसहित ठूलो संख्यामा श्रम संस्कृति पार्टीमा प्रवेश गर्नु भएको छ ।
पार्टी स्थापनाको एक बर्ष पुगेको अवसरमा फुङलिङमा सोमवार आयोजित कार्यक्रममार्फत मादेन र ताम्लिङसहित श्रम संस्कृति पार्टीमा प्रवेश गर्नु भएको श्रम संस्कृति पार्टीका ताप्लेजुङ अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो । मादेन २०६४ सालको संविधानसभामा तत्कालिन एकीकृत (नेकपा माओवादी)बाट संविधानसभा सदस्य हुनु भएको थियो । उहाँ २०७० सालको संविधानसभाको सदस्य निर्वाचनमा तत्कालिन नेकपा (माओवादी केन्द्र)बाट ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ का प्रत्यासी रहनु भएको थियो ।
ताम्लिङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रकोतर्फबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँ २०७९ सालको स्थानीय तहको निर्वाचनमा समेत उपाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । एमालेको सर्मथनमा स्वतन्त्र उम्मेदवार रहेका उहाँ काँग्रेस र नेकपा(माओवादी केन्द्र)का को गठबन्धका उम्मेदवार कृष्णकुमारी कडरियासंग १ मतको अन्तरमा पराजित हुनुभयो । मादेन र ताम्लिङसहित श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरुलाई पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राई,उपाध्यक्ष लाक्पा तामाङसहितले पार्टीमा स्वागत गर्नु भएको छ ।
जिल्ला अध्यक्ष शेर्पाले पार्टी स्थापनाको एकबर्षे अवधिमा श्रम संस्कृति पार्टी ताप्लेजुङ र मातहतका कमिटीमार्फत भएका गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो । २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा यहाँ श्रम संस्कृति पार्टीले चौथो स्थानको मत ल्याएको थियो । उतिबेला नेकपा एमालेका क्षितिज थेबे प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा नेपाली काँग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ निकटतम् प्रतिश्पर्धी रहनुभयो भने नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले तेस्रो स्थानको मत ल्याउँदा श्रम संस्कृतिका सन्तोष राईले चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले पाँचौ स्थानको मत ल्याउनु भएको थियो ।