असोज २७ गतेदेखि घुम्ति शिविर सञ्चालन गर्दै पाथीभरा याङवरक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २३ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले असोज २७ गतेदेखि २९ गतेसम्म घुम्ति सेवा शिविर सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनाथ पोखरेलका अनुसार वडा नं १ नाङखोल्याङ र वडा नं २ थेचम्बु बाहेक पालिकाका बाँकी ४ वटा वडामा घुम्ति सेवा शिविर सञ्चालन गर्न लागिएको हो । शिविरका क्रममा सामाजिक सुरक्षा भत्ता बितरण,६० बर्ष माथिका नागरिकको सामान्य स्वास्थ्य परीक्षण र ८६ बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार वडा नं ४ डुम्रिसे र वडा नं ५ चाक्सिबोटेमा असोज २७ गते मंगलवार,वडा नं ६ थुम्बेदिनमा असोज २८ गते बुधवार र वडा नं ३ तिरिङ्गेमा असोज २९ गते बिहीबार शिविर सञ्चालन हुने छ ।

सामाजिक सुरक्षा भत्ता दिन लाभग्राही स्वयं उपस्थित हुनुपर्ने(नावालकको हकमा बाहेक)समेत पालिकाले जनाएको छ । दलित बालबालिकाको भत्ता रकमका बारेमा हालसम्म प्रणालीमार्फत रकम भुक्तानी गनए नसकिने अवस्था रहेको बताउँदै पालिकाले घुम्ति शिविरमा उक्त रकम बितरण गर्न नसकिने र प्रणालीबाट प्राप्त हुनासाथ निकासा गरिने समेत जनाएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र,नेपाली नागरिकताको प्रमाणपत्र,नावालकको हकमा जन्मदर्ताको प्रमाणपत्र र संरक्षकको नेपाली नागरिकताको प्रमाणपत्र,अपाङ्गता भएका व्यक्तिको हकमा अपाङ्गता परिचयपत्र,६० बर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण तथा ८६ बर्ष माथिका जेष्ठ नागरिकको सम्मानका लागि भने नागरिकताको परिचयपत्र अनिवार्य गरिएको समेत पालिकाले जनाएको छ ।

पालिकाले वडा नं १ नाङखोल्याङमा घुम्ति सेवा शिविर सञ्चालन गर्न नसकिएको जनाउँदै लाभग्राहीलाई बैंकमार्फत मुक्तानी लिन समेत आग्रह गरेको छ । वडा नं २ थेचम्बु पालिकाको केन्द्र भएकोले थेचम्बुका नागरिकले पालिकामा रहेको बैंक र पालिकामार्फत कार्यालय अवधिमा सेवा लिन सक्ने समेत पालिकाले जनाएको छ ।

Similar Posts