|

फुङ्लिङमा अरिंगालले टोकेर तीनजना घाइते

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २२ । ताप्लेजुङमा अरिंगालले टोकेर तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार अरिंगालले टोकेर बिहीबार दुई महिला र एकजना पुरुष घाइते हुनुभएको हो ।
अरिंगालले टोकेर घाइते हुनेमा फुङ्लिङ नगरपालिका–१ का ५० वर्षीय भीमकुमार लिङ्खिम, सोही वडाका ५० वर्षीया हरिमाया मादेन र ५० वर्षीया तारा विक रहनुभएको छ । स्थानीय शेरबहादुर लिम्बूको खेतबारीमा घाँस काट्ने क्रममा अरिंगालले टोकेर उहाँहरु घाइते हुनुभएको हो ।
घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो । प्रहरी निरीक्षक यादवका अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको छ ।
घाइते तीनै जनाको शरीरको विभिन्न भागमा अरिंगालले टोकेको प्रहरीले जनाएको छ । केही दिन अघि अरिंगालले टोकेर फुङ्लिङ नगरपालिका–६ का एक पुरुषको मृत्यु भएको थियो । प्रहरीका अनुसार अरिंगालको घार (गोलो) झार्ने क्रममा अरिंगालले टोकेको र ती पुरुषको रुखबाट खसेर मृत्यु भएको थियो ।

Similar Posts