| |

पाथीभरा क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २३ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानर हटाउनुपर्ने भएको छ । अव्यवस्थित रुपमा राखिएका साइनबोर्ड र ब्यानर अर्थात संकेत पाटी वा प्रचार सामग्रीले संरक्षित वनस्पति तथा प्राकृतिक सौन्दर्यतामा असर पुगेकाले त्यस्ता सामग्री हटाउन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको हो ।
समितिले आइतबार सूचना जारी गर्दै १५ दिनभित्र अर्थात आगामी माघ ७ गते सम्ममा पाथीभरा क्षेत्रमा राखिएका साइनबोर्ड र ब्यानरजस्ता सामग्री हटाइसक्न उल्लेख गरेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र साइनबोर्ड र ब्यानरजन्य सामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।
पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा र त्यहाँ रहेको वनस्पति तथा रुखहरुमा फलामका काँटी प्रयोग गरेर (ठोकेर) राखिएका साइनबोर्डले प्राकृतिक सौन्दर्यतामा प्रतिकूल असर पु¥याइराखेको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै फलामजन्य धातुका काँटी प्रयोग गर्नाले लोपोन्मुख तथा संरक्षित वनस्पति र बोट बिरुवाहरु मासिने अवस्था देखिएको समितिले जनाएको छ ।
पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई बचाउन र स्वच्छ वातावरण कायम राख्नेगरी सुरु गरिएको अभियानलाई सहयोग गर्न समितिका कार्यकारी निर्देशक हाङ्बाङले सबै पक्षलाई अपिलसमेत गर्नुभएको छ । तोकिएको समयभित्र साइनबोर्ड र ब्यानरजन्य सामग्री नहटाएमा पाथीभराको गरिमा कायम राख्न र प्राकृतिक वातावरण संरक्षणका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक कदम चाल्ने पनि सूचनामा उल्लेख गरिएको छ ।
पाथीभरा क्षेत्रको वनमा लालीगुराँस, लौठसल्ला, चाप, चिमाल, ढ्याङ्ग्रे सल्लाजस्ता रुख तथा बोट बिरुवा रहेका छन् । त्यस्तै निकालो र मालिङ्गोका वन रहेको छ भने अन्य बहुमूल्य जडीबुटी लगायतका वनस्पतिसमेत पाथीभरा क्षेत्रमा रहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts