सिदिङ्वाले मंसिर ९ बाट पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २४ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यसबर्षको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड मंसिर ९ गतेबाट सुरु गर्ने भएको छ ।
पालिका स्तरीय प्रतियोगिता मंसिर ९ गतेबाट सिदिङ्वाको साब्लाखुस्थित रंगशाला सुरु हुने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । पालिका स्तरीय प्रतियोगिताबाट खेलाडी छनौट गरी बन्द प्रशिक्षणमा राख्ने तथा जिल्ला स्तरीय प्रतियोगितामा बाँकी समय खर्चिने योजना अनुसार मंसिर ९ गतबाट पालिका स्तरीय प्रतियोगिता सञ्चालन गर्न लागिएको सिदिङ्वा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बदिप्रसाद सिटौला(बिनोद)ले जानकारी दिनुभयो ।
यसबर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिदिङ्वामा आयोजना हुनेगरी अघिल्लो बर्षको जिल्ला स्तरीय प्रतियोगिताबाटै सिदिङ्वाले चालु आर्थिक बर्षको प्रतियोगिताको जिम्मेवारी स्वरुप मैवाखोला गाउँपालिकाबाट झण्डा ग्रहण गरेको थियो । अघिल्लो बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटीमा सञ्चालन भएको थियो । सो भन्दा अघिको प्रतियोगिता आठराई त्रिबेणी गाउँपालिकाको समन्वयमा वडा नं २ को फुलवारीस्थित महभीर खेल मैदानमा सम्पन्न भएको थियो ।
सदरमुकाममा मात्र केन्द्रित प्रतियोगितालाई रहेक स्थानीय तहमा आयोजनजा गर्नेगरी विकेन्द्रित गर्दै जिल्ला खेलकुद विकास समितिले १४ औं राष्ट्रपति रनिङ शिल्डबाट जिल्ला स्तरीय प्रतियोगिता जिल्लाका हरेक स्थानीय तहमा आयोजना हुनेगरी विकेन्द्रित गर्दै आइरहेको छ । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलका अनुसार यसबर्षको जिल्ला स्तरीय प्रतियोगिताको क्यालेण्डर प्राप्त भईसकेको छैन ।
पालिका स्तरीय छनौट प्रतियोगिताको पालिकाले तयार गरेको क्यालेण्डर अनुसार सञ्चालन हुन सक्ने भएपनि जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास बोर्डबाट कुनै कार्यतालिका प्राप्त नभएको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । अहिले कोशी प्रदेश खेलकुद विकास बोर्डमा उपाध्यक्ष,सदस्य सचिव सहितका पदाधिकारी तथा सदस्यहरु रिक्त रहेको र सोहि कारण जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनका लागि कार्यतालिका बनेर नआएको हुनसक्ने पौडेलले बताउनुभयो ।
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भने २०८१ साल माघ २७ गते देखि मैवाखोलाको साँघुमा भएको थियो । त्यहाँ ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि स्पर्धा भएको थियो ।