औद्योगिक ग्राम बनाउन सम्भाव्यता अध्ययन गर्दै मैवाखोला,आयआर्जन अभिबृद्धि र रोजगारी सृजना हुने अपेक्षा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका स्तरीय औद्योगिक ग्राम बनाउन सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुुसार पालिकामा उपलब्ध कृषि,पशुजन्य,वनजन्य तथा अन्य स्थानीय स्रोत तथा कच्चा पदार्थको औद्योगिकरण तथा मूल्य अभिबृद्धि गरी रोजगारी सृजना गर्ने ध्येय अनुसार औद्योगिक ग्राम स्थापनाका लागि पालिकाले सम्भाव्यता अध्ययन गर्ने भएको हो । सम्भाव्यता अध्ययनका लागि पालिकाले चालु आर्थिक बर्ष २०८३।८४ मा बजेटको प्रवन्ध समेत गरेको पालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले बताउनुभयो ।

पालिकाले औद्योगिक ग्राममार्फत रोजगारी सृजना,आयआर्जन बृद्धि,स्थानीय कच्चा पदार्थको समूचित प्रयोग र स्थानीय अर्थतन्त्रको विकास हुने अपेक्षा राखेको छ । मैवाखोलाका नागरिकलाई उद्यमशील बनाउने उद्देश्यले उद्यमशीलता तथा व्यवसायिक योजना बनाउने तालिम र पुराना उद्यमीहरुलाई सीप विकास तालिम सहितका कार्यक्रम समेत चालु बर्षमा समावेश गरिएको पालिकाले जनाएको छ । आन्तरिक आय अभिबृद्धिका लागि पालिकाले पालिकाभरीका ६ वटै वडामा शेयर कारोवार सम्वन्धी तालिम समेत दिने भएको छ । स्थानीय उत्पादित बस्तुको बजार प्रर्वद्धन गर्न,स्थानीय तथा प्रदेश स्तरीय मेला औद्योगिक मेला र प्रर्दशनीमा सहभागिताको कार्यक्रम समेत पालिकाले तय गरेको छ ।

मैवाखोलाले पालिकामा उत्पादन भएको रैथाने तथा अग्र्यानिक कृषि उपजको प्रर्वद्धनका लागि संघीय राजधानी काठमाडौंमा स्टल समेत राखेको छ । डिग फर नेपालसंगको सहकार्यमा मैवाखोला गाउँपालिकाले पालिकामा उत्पादन भएका रैथाने कृषि उपजका उत्पादन बानेश्वरस्थित मौलिक भान्छाघरको प्राङ्गणमा स्टल राखी बिक्रीमा लगेको हो । पालिकामा औद्योगिक ग्राम स्थापना भए स्थानीय स्रोत साधन,कच्चा पदार्थ,प्रविधि र सीपको परिचालन गरी लघु,घरेलु तथा साना उद्योगमा लगानी अभिबृद्धि गरी यस्ता उद्योगको स्थापना,विकास र प्रर्वद्धन गर्दै रोजगारी सृजनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने विश्वास राखिएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

नेपाल सरकारबाट २०७५ साल चैत ४ गते स्वीकृत भएको औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधिलाई २०७७ साल माघ १० गते पहिलो शंसोधन भई कार्यान्वयनमा रहेको छ । नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि अनुसार औद्योगिक ग्राम स्थापनाका लागि हिमाली र दुर्गम पहाडी जिल्लाहरुमा कम्तिमा २५ रोपनी,पहाडी क्षेत्रहरुमा ३५ रोपनी र तराईका क्षेत्रमा ७ विगाह जग्गा अनिवार्य हुनुपर्छ । औद्योगिक ग्राम स्थापना भएपछि उक्त औद्योगिक ग्राममा सामान्य सुविधा अन्तरगत औद्योगिक ग्राम प्रशासनिक भवन,बैंक तथा वित्तीय संस्था,दिवा शिशु स्याहार केन्द्र,अग्नि नियन्त्रण कक्ष,उत्पादित बस्तुहरुको प्रर्दशनी तथा बिक्री कक्ष,महिला र पुरुष दुबैका लागि शौचालय तथा स्नान कक्ष,पार्किङ स्थल तथा आराम स्थल,क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्रको सुविधा हुनु अनिवार्य छ ।

Similar Posts