| |

ताप्लेजुङमा व्यवसायीले बढाए खसी र भेडाको मासुको मूल्य

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १ । ताप्लेजुङमा स्थानीय व्यवसायीले खसी र भेडाको मासुको मूल्य बढाएका छन् । सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीले सोमबारदेखि खसी र भेडाको मासुको मूल्य बढाएका हुन् ।
फुङ्लिङ बजारका फ्रेसहाउस सञ्चालक अर्थात मासु व्यवसायीले साविक मूल्य दरमा प्रतिकिलोग्राम २०० रुपियाँले खसी र भेडाको मासुको मूल्य बढाएका छन् । खसीको मासु प्रतिकिलोग्राम ८०० रुपियाँले बिक्री गरिँदै आएकोमा मूल्य वृद्धि गरिएसँगै प्रतिकिलोग्राम एक हजार रुपियाँ पुगेको छ ।
त्यस्तै भेडाको मासु प्रतिकिलोग्राम एक हजारले बिक्री गरिँदै आएकोमा मूल्य वृद्धि गरी एक हजार २०० रुपियाँ पु¥याइएको छ । साविक अर्थात पुरानो मूल्यमा जिउँदो खसीबोका र भेडा पाउन छोडेपछि मासुको मूल्य वृद्धि गर्नुपरेको व्यवसायीले बताएका छन् ।
फुङ्लिङ बजारस्थित राजभण्डारी फ्रेस हाउस एण्ड सप्लायर्सका सञ्चालक किरण राजभण्डारीका अनुसार गाउँघरमा खसी र भेडा पाउन छोडेपछि मासुको मूल्य बढाइएको हो । झापाको विर्तामोड, प्रदेश राजधानी विराटनगर हुँदै काठमाडौंसम्म ठुला सहर र बजारहरुमा खसीबोका निर्यात हुन थालेपछि स्थानीय व्यवसायीले खसी, भेडा पाउन छोडिएको व्यवसायी राजभण्डारीको भनाइ छ ।
प्रतिकिलोग्राम ७०० रुपियाँ सम्ममा गाउँबाट खसी बोका खरिद गरी ल्याएर मासु ८०० रुपियाँले बिक्री गर्ने गरेकामा अहिले जिउँदो खसीलाई नै प्रतिकिलोग्राम ९०० रुपियाँ पर्न थालेको उहाँले बताउनुभयो । त्यस्तै जिउँदो भेडाको मूल्य पनि प्रतिकिलोग्राम एक हजार बढी पर्न थालेपछि मासुको मूल्य वृद्धि गर्न बाध्य हुनुपरेको व्यवसायी राजभण्डारीले बताउनुभयो ।
उहाँका अनुसार बाहिरका व्यापारीले महंगो मूल्य दिएर जिउँदो खसी र भेडा लैजान थालेपछि जिल्लामा अभाव भएको हो । जिल्लामा फ्रेस हाउस अर्थात व्यवसाय चलाउनलाई बाहिरका व्यापारीले दिए जति नै मूल्य लगाउनुपर्ने हुँदा मासुको मासुको मूल्य बढाउनु बाध्य हुनुपरेको राजभण्डारीले बताउनुभयो ।
यता जिउँदो खसी र भेडाको मूल्य बढेकोभन्दै सोमबारदेखि लागू हुनेगरी व्यवसायीले आफूखुशी खसीको मासुको मूल्य ५० प्रतिशतसम्म वृद्धि गरेपछि फुङ्लिङ बजारमा तहल्का मच्चिएको थियो । प्रतिकिलोग्राम ८०० रुपियाँदेखि एक हजार २०० रुपियाँ पु¥याएपछि बजारमा तहल्का अर्थात तीब्र आलोचना भएको थियो ।
मूल्य वृद्धिको आलोचनाले व्यापकता पाएपछि सोमबार नै प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले मासु व्यवसायीलाई जिल्ला प्रशासनमा बोलाएर छलफल गर्नुभएको थियो । मासुको मूल्य वृद्धि गर्नुपर्ने कारण, व्यवसायीले खेप्नुपरेको समस्या र चुनौतीका बारेमा प्रजिअ दाहालले स्थानीय व्यवसायीसँग छलफल गर्नुभएको बताइएको छ ।
प्रजिअ दाहालको समन्वयमा ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका नेतृत्वसमेतलाई सहभागी गराएर भएको छलफलपछि खसीको मासुको मूल्य एक हजार २०० बाट घटाएर प्रतिकिलोग्राम एक हजार रुपियाँ कायम गर्न व्यवसायी सहमत भएका हुन् । राजभण्डारी फ्रेस हाउस एण्ड सप्लायर्सका सञ्चालक राजभण्डारीले खसीको मासु सालाखाला (खुट्टा, टाउको, आन्द्रा, भुँडी मिसाइएको) बनाएर प्रतिकिलोग्राम एक हजार रुपियाँमा बिक्री गर्न आफूहरु सहमत भएको बताउनुभयो ।
उहाँले मंगलबारदेखि खसीको मासु प्रतिकिलोग्राम एक हजार रुपियाँमा बिक्री गरिने बताउनुभयो । भेडाको मासु भने एक हजार २०० रुपियाँले नै बिक्री गरिने उहाँको भनाइ छ । जिउँदो खसी बोका र भेडाको मूल्य बढेपछि सोहीअनुसार मासुको मूल्य समायोजन गर्न आफूहरुले मूल्य बढाएको पनि उहाँले बताउनुभयो ।
महंगी र व्यवसायीले खेप्नुपर्ने समस्या तथा चुनौतीबारे ख्याल नगरी मूल्यका विषयमा मात्र विरोध र आलोचना भएकोमा उहाँले गुनासोसमेत व्यक्त गर्नुभयो । अब गाउँघरमा खसी बोका र भेडा पाउँदा मासु बिक्री गर्ने र नपाउँदा महंगो मूल्य लगाएर बिक्री नगर्ने पनि उहाँले बताउनुभयो । सोमबार भने फुङ्लिङ बजारमा खसी र भेडाको मासु प्रतिकिलोग्राम एक हजार २०० रुपियाँका दरले नै कारोबार भएको छ ।
जिल्ला मासु व्यवसायी संघका अध्यक्ष टीकाराम सुनुवारका अनुसार खसी र भेडाबाहेक बङ्गुर, राँगा र ब्रोइलर कुखुराको मासु भने साविक मूल्यमै कारोबार भइरहेको छ । बङ्गुरको मासु प्रतिकिलोग्राम ५०० रुपियाँ, राँगाको मासु ४०० देखि ६०० रुपियाँसम्म र ब्रोइलर कुखुराको मासु प्रतिकिलोग्राम ४८० रुपियाँमा कारोबार भइरहेको सङ्घका अध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

Similar Posts