आठराई त्रिबेणीमा ६० बर्ष उमेर पूरा भएका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँ नगदसहित बिदाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ६० बर्ष पूरा भएका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँ नगदसहित बिदाई गरेको छ ।

६० बर्ष उमेर पूरा भएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक विदाई गर्ने पालिकाको नीति अनुसार स्थानीय चन्द्रमाया लिम्बूलाई ५० हजार नगदसहित बिदाई गरिएको पालिकाको स्वास्थ्य शाखा प्रमुख समिर प्रधानले जानकारी दिनुभयो । पालिकाले ६० बर्ष उमेर पूरा भएका महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सेवाबाट बिदाई गर्ने नीति लिएको छ । त्यसका लागि पालिकाले कार्यविधि नै बनाई कार्यान्वयनमा ल्याएको छ । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले स्वास्थ्य क्षेत्रमा निस्वार्थ रुपले काम गरी स्वस्थ्य समाज निर्माणमा पु¥याएको योगदानको कदर गर्दै ६० बर्ष उमेर पूरा भएका महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मानपूर्वक बिदाई गर्ने पालिकाको नीति कार्यान्वयनमा आएको जानकारी दिनुभयो ।

आठराई त्रिबेणीले महिला स्वास्थ्य स्वयंसेसेविकाहरुका लागि प्रोत्साहन रकम थप सहितका आकर्षक सुविधाका कार्यक्रम राखेको छ । पालिकाका अनुसार संघीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि दिएको प्रोत्साहन रकममा गाउँपालिकाले सतप्रतिशत रकम थप सहित थप अतिरिक्त सुविधा समेत थप गरिदिएको छ । संघीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि मासिक ५ सय रुपैयाँ दिएकोमा पालिकाले संघीय सरकारले दिएको प्रोत्साहन रकमको सत प्रतिशत रकम थप गरिदिएको पालिका अध्यक्ष पोमूले जानकारी दिनुभयो ।

पालिकाका सचिवालय संयोजक लेखनाथ भट्टराईका अनुुसार पालिकाले प्रोत्साहन रकममा स्थानीय स्रोतबाटै सत प्रतिशत रकम थप बाहेक पालिकाले स्वयंसेविका र उनीहरूको परिवारको स्वास्थ्य बीमाको प्रिमियम रकम पालिकाले व्यहोर्ने,स्वास्थ्य बीमा वापतको रकममा लाग्दै आएको प्रिमियमको सत प्रतिशत रकम पालिकाबाट उपलब्ध गराउने र ६० बर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वेच्छिक अवकास कार्यक्रम अन्तरगत कम्तिमा ५ बर्ष सेवा गरेमा एकमुष्ट थप नगद सहित स्वर्ण बिदाई कार्यक्रम गर्ने तथा डिजिटल रिपोर्टिङका लागि मासिक मोबाइल रिचार्ज र प्रविधि सहयोग गर्दै आएको छ । आर्थिक बर्ष २०८२।८३ मा स्वास्थ्य सूचकका आधारमा जिल्लाकै पहिलो उत्कृष्ट पालिका बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पालिकाले पालिकाका ११ वटै स्वास्थ्य संस्थालाई सम्मानपत्र समेत दिएको छ ।

 

Similar Posts