विपद्का बेला पूर्व सावधानी अपनाउन प्रशासनको आग्रह

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १८ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सम्भावित विपद् जोखिमका समयमा उच्च सर्तकर्ता अपनाउन जिल्लाबासीहरुलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँइले बिहीबार अपरान्ह अपिल जारी गर्दै जल तथा मौसम विज्ञान विभागले बर्षाजन्य मौसमी पूर्वानुमान गरिरहेकोले त्यसबाट हुने सम्भावित जोखिमबाट सावधानी अपनाउन आग्रह गरेका छन् । प्रजिअ सेढाँइले स्थानीय तह तथा विपद्संग सम्वन्धित सरोकारवाला निकायहरुले यो बेला पूर्ण तयारी अवस्थामा रही आवश्यक सूचना आदान–प्रदानमा सहयोग गर्ने विश्वास समेत लिनु भएको छ ।

बाढी,पहिरो,डुबान तथा अन्य मनसुनजन्य विपद्का अन्य जोखिमयुक्त क्षेत्रहरुको निरन्तर निगारानी गरी जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने,जोखिमयुक्त सडक,पुल,नदी तटिय क्षेत्र,बस्ति तथा सार्वजनिक संरचनाको अवस्था बारे सम्वन्धित निकायसंग समन्वय गरी आवश्य पूर्व सावधानी अपनाउने तथा सर्वसाधारणलाई समयमै सचेत गराउने,खोज तथा उद्धारका लागि आवश्य जनशक्ति,उपकरण,सवारी साधन र सञ्चार प्रणालीलाई पूर्व तयारी अवस्थामा राखी समन्वय तथा संयुक्त पहलका लागि सक्रियता र अग्रसरता लिनुपर्ने समेत प्रजिअ सेढाँइले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

प्रजिअ सेढाँइले सञ्चार माध्यम लगायत सम्वन्धित सबैले सम्भावित विपद् सम्वन्धी सत्य तथ्य आधिकारिक र समयमै सूचना प्रवाह गरी अफवाह तथा भ्रम फैलन नदिन भूमिका खेल्नुपर्ने समेत बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालयले मनसुन अवधिभर कुनैपनि समयमा विपद्को जोखिम उच्च रहने भएकोले सम्पूर्ण सुरक्षा संयन्त्र,स्थानीय तह तथा सम्वन्धित निकायहरु आपसी समन्वय र सहकार्यमा रहने समेत बताएको छ ।

Similar Posts