उत्कृष्ट शिक्षक,बिद्यार्थी र कक्षा ८ उर्तीण बिद्यार्थीको बिदाई गर्दै तमोर बोर्डिङद्धारा अभिभावक भेला सम्पन्न
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २४ । ताप्लेजुङको फुङलिङस्थित तमोर इङसिल बोर्डिङ स्कुलले अभिभावकको वृहत्त उपस्थितिमा उत्कृष्ट बिद्यार्थी र शिक्षकलाई पुरस्कृत तथा कक्षा ८ उर्तीण बिद्यार्थीको बिदाई गरेको छ । कार्यक्रममार्फत बिद्यालयले कक्षा १ देखि कक्षा ८ सम्म प्रथम,द्धितीय र तृतीय हुने,बिद्यालयमा नियमित उपस्थित हुने,अनुशासित,बिद्यालय पोशाकको नियमित ख्याल गर्ने,सफाईमा ध्यान दिने,समग्र बिद्यालयको नेतृत्व गर्ने बिद्यार्थीलाई पुरस्कृत गरेको हो ।
निरन्तर अध्यापन सेवामा ध्यान दिएर बिद्यालयको सिकाई सुधारमा सक्रिय दुईजना शिक्षकलाई समेत बिद्यालयले पुरस्कृत गरेको प्रिन्सिपल तरुण भारतीले जानकारी दिनुभयो । अभिभावक भेला समेत आयोजना गरेको कार्यक्रमका वक्ताहरुले अभिभावक प्रत्येक बालबच्चाको पहिलो गुरु भएको भन्दै अभिभावकले बालबच्चाप्रति दिने ध्याननै पढाई सुधारको आधार हुने बताउनुभयो । बिद्यार्थी बिद्यालयमा करिव ६ घण्टा मात्र रहने बताउँदै बाँकी रहेको समय घरका अभिभावकले बालबच्चाको पढाई,गृहकार्यको अवस्था,आनिवानी र आचरणको ख्याल र उनीहरुको उचित शिक्षाको वातावरण बनाईदिनुपर्ने बक्ताहरुको जोड दिनु भएको थियो ।
प्याब्सनका केन्द्रीय सदस्य दिनेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्याब्सनका अध्यक्ष देवराज गुरुङ,फुङलिङ नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश पौडेल,बासु मावि मेदिवुङका प्रधानाध्यापक युवराज बस्नेत,प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी,फुङलिङ नगर शिक्षा समितिका सदस्य समेत रहनु भएका प्याब्सनका पूर्व जिल्ला अध्यक्ष तथा ताप्लेजुङ बुद्ध बोर्डिङका प्रिन्सिपल इन्द्रकुमार गुरुङ,जिल्ला ब्याट मिन्टन संघका अध्यक्ष सुरेश सिंघक,पत्रकार महासंघ ताप्लेजुङका पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारीसहितले बिद्यालयले शिक्षाको क्षेत्रमा दिएको योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं ७ का वडासदस्यद्धय अभयप्रसाद लिम्बू र सागर मगर,शिक्षासेवी तथा सेवानिवृत्त शिक्षक जंगबहादुर बस्नेत,शान्ति आधारभूत बिद्यायका प्रधानाध्यापक खगेन्द्रकुमार कार्की सहितको उपस्थिति रहेको थियो । बिद्यालयका प्रिन्सिपल भारतीले बिद्यालयका प्रत्येक बिद्यार्थीको परिचयपत्रमा रहेको कोडमार्फत बिद्यालयमा नियमित उपस्थित भए नभएको स्वत सन्देश प्रवाह हुने प्रणालीको जडान,सम्पूर्ण कक्षाहरुमा डिजिटल बोर्ड राख्न सुरु,विद्युतीय हाजिरी प्रणालीको सुरुवात सहितका आधुनिक प्रविधिमैत्री पढाई सुरु गर्ने बिद्यालयको तयारी बारे अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बस्नेतले कार्यक्रमको समापन गर्दै बिद्यालयले सिकाई व्यवस्थापन,सिकाई सुधार र गुणस्तरीय सिकाईको नारा नै तय गरी गुणस्तरीय र प्रविधिमैत्री पढाईमा ध्यान दिने योजना बनाएको बताउनुभयो ।