राश्वपा अधिबेशनः उपसभापतिमा चुनाव,बाँकी पद निर्वीरोध
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जठ २४ । उपसभापति बाहेक सबै पदाधिकारीमा निर्विरोध नेतृत्व चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको पहिलो जिल्ला अधिबेशन सकिएको छ ।
अधिबेशनले राजनकुमार गुरुङलाई सर्वसम्मत सभापति चयन गर्दा उपसभापतिमा मानबहादुर मोक्तान र निर्मला खिम्दिङबिच चुनावी भिडन्त हुँदा मोक्तान उपसभापतिमा निर्वाचित हुनुभयो । तामाङले ३९ मत ल्याउँदा खिम्दिङ २७ मतमा रोकिनुभयो । प्रतिनिधिसभामा राश्वपाकोतर्फबाट समानुपातिक बन्द सूचीमा रहनु भएकी खिम्दिङ अन्तिम समयमा सांसद बन्नबाट रोकिनु भएको थियो । जिल्ला उपसभापतिमा समेत उहाँले पराजय व्यर्होनु परेको छ । यसअघिका जिल्ला सभापति वीरेन्द्र श्रेष्ठले स्वेच्छाले जिल्लाको नेतृत्व हस्तान्तरण गर्नु भएको छ ।
जिल्ला अधिबेशनले सचिवमा लिलाराज पौडेल र सहसचिव सो सरह हुने संगठन सचिवमा गोपाल गुरागाँईलाई चयन गरेको छ । गुरागाँई जेन जी मुभमेन्ट ताप्लेजुङका संयोजक समेत हुनुहुन्छ । जिल्ला सदस्यहरुमा कमल लेछर्बो,छत्रबहादुर विक,सुशिला कार्की भोटिया,हर्कराज गुरुङ,शान्ति सिवा,नवीन अधिकारी र राजेन्द्रकुमार थापा चयन हुनु भएको छ । राश्वपाको बिधानले जिल्ला कार्य समितिको कोषाध्यक्ष पद भने निर्वाचित सदस्यहरुमध्येबाट चयन गर्ने छ ।
फक्ताङलुङ र मैवाखोला गाउँपालिका बाहेक राश्वपाले ताप्लेजुङका ९ मध्ये ७ पालिका कमिटीको अधिबेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । राश्वपा पालिका कमिटीका सभापतिहरुमा फुङलिङमा युवराज बराल,मिक्वाखोलामा नुपु शेर्पा,मेरिङदेनमा जीवन पौडेल,सिरिजङ्गामा भुवानीप्रसाद दाहाल,सिदिङ्वामा कविराज लिम्बू,आठराई त्रिबेणीमा केदार प्रसाँई र पाथीभरा याङवरकमा शरण तामाङलाई चयन गरिसकेको छ ।