| |

जग्गा खरिद गरेर विद्यालयलाई निःशुल्क उपलब्ध

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ४ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित एक माध्यमिक विद्यालयलाई छ रोपनी बढी जग्गा निःशुल्क उपलब्ध गरिएको छ । स्थानीय समाजसेवीले आर्थिक संकलन गरेर जग्गा खरिद गरी विद्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् ।
सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा रहेको भञ्ज्याङ माध्यमिक विद्यालयलाई छ रोपनी चार आना क्षेत्रफल बराबरको जग्गा निःशुल्क उपलब्ध गराइएको हो । विद्यालयका प्रधानाध्यापक राजेन्द्र इदिङगो लिम्बूका अनुसार स्थानीय ३२ जना समाजसेवीले मिलेर जग्गा खरिद गरी विद्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको हो ।
समाजसेवीहरुले आर्थिक संकलन गरेर जग्गा खरिद गरी विद्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् । विद्यालयलाई जग्गा उपलब्ध गराउन आर्थिक संकलन गर्नेमा सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका सबैभन्दा बढी २६ जना सहयोगदाता अर्थात समाजसेवी रहनुभएको प्रधानाध्यापक इदिङगोले जानकारी दिनुभयो ।
प्रधानाध्यापक इदिङगोका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका चार जना, वडा ४ साब्लाखुका दुई जना र वडा २ सादेवाका एक तथा सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनका एकजना रहनुभएको छ । उहाँहरुले आर्थिक संकलन गरेर साब्लाखुका स्थानीय नरेशकुमार तामाङको नाममा रहेको उक्त जग्गा खरिद गरी विद्यालयको नाममा रजिष्ट्रेसन पास गरिदिनुभएको हो ।
हालसम्म सीमित जग्गामा सीमित संरचनाबाट विद्यालय सञ्चालन हुँदै आएकोमा स्थानीय समाजसेवीहरुको पहल र योगदानबाट जग्गा प्राप्त भएपछि विद्यालयलाई सहज भएको प्रधानाध्यापक इदिङगोले बताउनुभयो । छ रोपनी चार आना जग्गा प्राप्त भएसँगै विद्यालयका लागि आवश्यक पर्ने संरचनाहरु निर्माण गर्न सकिने र पर्याप्त पूर्वाधार तथा संरचनाले विद्यालयको पठनपाठनमा थप सुधार गर्न र गुणस्तरीय बनाउनमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

Similar Posts