ताप्लेजुङको थुकिमाका बिद्यालयमा देखिएको समस्या भाइरल इन्फ्लुएन्जा ‘ए’,आत्तिनु नपर्ने विशेषज्ञको भनाई

खगेन्द्र अधिकारी
ताप्लेजुङ फागुन १९ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालयका बिद्यार्थीमा देखिएको समस्या भाइरल इन्फ्लुएन्जा ‘ए’को भएको पुष्टी भएको छ ।
सम्वन्धित विज्ञले यो सामान्य समस्या भएको र यसबाट कुनै आत्तिनुपर्ने समस्या नभएको बताएका छन् । मेरिङदेन गाउँपालिकाको वडा नं ५ थुकिमाका दुई बिद्यालयका बिद्यार्थीमा देखिएको स्वास्थ्य समस्या पछि त्यहाँका बिरामी बिद्यार्थीको स्वाव संकलन गरी परीक्षणका लागि बिराटनगर पठाईएकोमा १० जनाको परीक्षण प्रतिबेदन आएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार १० जनाको स्वाव परीक्षण प्रतिबेदन प्राप्त भएकोमा ७ जनामा भाइरल इन्फ्लुएन्जा ‘ए’ भएको पुष्टी भएको छ । स्वाव संकलन गरिएकामध्ये परीक्षण गरिएका १० जनामा कोरोना संक्रमण र इन्फ्लुएन्जा ‘बी’ नदेखिएको प्रतिबेदन प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोशी प्रदेश जनास्वास्थ्यका निर्देशक प्रकाश कार्कीले स्वाव परीक्षणका क्रममा भाइरल इन्फ्लुएन्जा ‘ए’का बिरामी बढी देखिएपनि यो कुनै आत्तिनुपर्ने समस्या नभएको जानकारी दिनुभयो ।‘आत्तिनु पर्दैन,यो सामान्य रुघाखोकी जस्तै समस्या हो’कार्कीले भन्नुभयो ‘रुघाखोकी लागेका बेला अपनाउने सावधानी अपनाए यो रोग निको हुन्छ’ । मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमाका त्रिभूवन मावि र जनज्योति आधारभूत विद्यालयका तीनसय बढी बिद्यार्थी बिरामी भएपछि ति बिद्यालयको पढाई नै बन्द गरिएको थियो ।