स्थगन भएको केवलकार निर्माण कार्य चाँडो सुरु गर्न माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली तथा कोणसभा
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २४ । स्थगन भएको पाथीभरा क्षेत्रमा निर्माणाधिन केवलकार निर्माण कार्य चाँडो सुरु गर्नुपर्ने माग गर्दै आइतवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा वृहत्त नागरिक सद्भाव र्याली निकालिएको छ ।
ताप्लेजुङ विकासप्रेमी युवा समाजको ब्यानरमा निकालिएको र्याली पाथीभरा चौक–वीरेन्द्रचौक–जिमीपोखरी टोल–दोबाटो–शान्तिटोल–तोक्मे–माथिल्लो रोड हुँदै वीरेन्द्रचौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले स्थगन भएको केवलकार निर्माण तत्काल सुरु गर्न माग गर्नुभयो । उहाँहरुले निजी क्षेत्रको लगानी सुरक्षण गर्नु सरकारको दायित्व भएको बताउँदै निर्माण कार्यलाई तत्काल अघि बढाउने वातावरण तयार गर्न सरकारसंग माग गर्नु भएको छ ।
कोणसभामा नगरप्रमुख अमिर मादेन,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्वद्धन समितिका अध्यक्ष तथा व्यवसायी तारानाथ घिमिरे,जेन जी अगुवा करण गुरुङ,जेष्ठ नागरिक अगुवा कर्ण इजम लिम्बू,महिला नेतृ मीना गुरुङ र युवा अगुवा पदमचेञ्जी मावोले केवलकार आधुनिक युगको सुहाउँदिलो र सबैभन्दा कम प्राकृतिक क्षतिमा निर्माण हुने यातायातको उत्तम साधन भएको तर्क गर्नुभयो । केवलकार निर्माणले पाथीभरा पुग्न उत्कट चाहना भएका र भूगोल र पदमार्गका कारण त्यहाँ पुग्न नसकेका तीर्थालुका लागि ठूलो लाभ हुने बताउँदै बक्ताहरुले केवलकार निर्माण पछि पाथीभरा क्षेत्रमा आउने तीर्थालुको संख्यामा अधिक बृद्धि भई आर्थिक विकासमा नयाँ आयाम स्थापित गर्ने दावी गर्नुभयो । फुङलिङ नगरप्रमुख मादेनले आइतवार जेष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति र श्रमजीविहरु समेत र्यालीमा सहभागी भएको जानकारी दिनुभयो ।
र्यालीमा सहभागीले ‘नगरौं गलत प्रचार,यातायातको साधन मात्र हो केवलकार,‘ताप्लेजुङको समृद्धिका लागि केवलकार निर्माण गरौं’,‘बिरोध होईन पराय,सबै मिली खोजौं उपाय’जस्ता प्लेकार्ड प्रर्दशन गरेका थिए । नाराका क्रममा स्थगन भएको ‘केवलकार निर्माण कार्य सुरु गर,‘विकासलाई मास्न पाइदैंन’‘पाथीभरा माताकी जय’जस्ता नारा लागेका थिए । उता मुक्कुमलुङ संयुक्त संघर्ष समिति र केवलकार खारेजी संयुक्त संघर्ष समितिले भने विज्ञप्ति जारी गरी र्यालीमा सहभागी नहुन आवह्वान गरेका थिए । मुक्कुमलुङ क्षेत्रको अतिक्रमण र केवलकार खारेजीको आन्दोलनलाई दमन गर्न भएका मानव अधिकारबिरोधी घटनाको छानबिन कार्य चलिरहेको अवस्थामा त्यसलाई प्रभाव पार्ने नियतले र्याली आयोजना गरिएको बताउँदै मुक्कुमलुङ संयुक्त संघर्ष समितिका अध्यक्ष श्रीलिङखिम र केवलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूद्धारा जारी विज्ञप्तिमा उल्लेख थियो ।