एक पत्रकार,एक समाजसेवी र रेडक्रस उपशाखालाई टीकाराम गौतम स्मृति पुरस्कार
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ९ । टीकाराम गौतम स्मृति प्रतिष्ठानले ताप्लेजुङको सामाजिक क्षेत्रमा योगदान पु¥याउने एक पत्रकार,एक समाजसेवी र रेडक्रस ताप्लेजुङको एक उपशाखासहित तीन बिधामा पुरस्कार वितरण गरेको छ ।
प्रतिष्ठानले सञ्चारकर्मीतर्फ पत्रकार महासंघ ताप्लेजुङका सहसचिव साहारा लङ्वालाई नगद १० हजार १०५ रुपैयाँ सहित पुरस्कृत गरेको छ । लङ्वा ताप्लेजुङमा सञ्चालित रेडियो काबेलीका स्टेशन म्यानेजर र गोरखापत्र दैनिकका ताप्लेजुङ संवाददाता रहनु भएको छ । यस्तै १० हजार १०५ रुपैयाँ राशीको सामाजिक सेवातर्फको पुरस्कार भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईले पाउनु भएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व सभापति समेत रहनु भएका राई लामो समय देखि शिक्षण पेशामा आवद्ध रहनु भएको छ । राईले मानव अधिकार रक्षकको भूमिका निर्वाह गर्दै कयौं सामाजिक सेवामा योगदान दिनु भएको छ । रेडक्रस उपशाखातर्फ ढुङ्गेसाँघु उपशाखालाई नगद १५ हजार १०५ रुपैयाँसहित पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष तोया गौतमले जानकारी दिनुभयो ।
२०१३ साल वैशाख ९ गते जन्मिएका नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकारामको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उहाँको निधन पछि सामाजिक क्षेत्रलाइ स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले टीकाराम गौतम स्मृति प्रतिष्ठानमार्फत कार्यक्रम गर्दै आइरहनु भएको छ । स्वर्गीय गौतमको जन्मदिनको पारेर हरेक बर्षको बैशाख ९ गते प्रतिष्ठानले सम्मान कार्यक्रम गर्दै आइरहेको छ । स्वगीय गौतम २०३८ सालमा नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको उपकोषाध्यक्ष पदको जिम्मेवारी सहित नेपाल रेडक्रस सोसाईटीमा संस्थागत रुपमा आवद्ध हुनु भएको थियो ।
विक्रम् सम्वत २०४२ साल देखि २०५४ सालसम्म नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको मन्त्री(सचिव)हुनुभएका उहाँ त्यसपछि भने मृत्यु पर्यन्त जिल्ला सभापति रहनु भएको थियो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँको प्रमुख आतिथ्यतामा भएको पुरस्कार तथा सम्मान तथा पुरस्कार बितरणसंगै प्रतिष्ठानले सम्वत् २०८३ को भित्तेपात्रो(क्यालेण्डर)समेत बिमोचन गरेको प्रतिष्ठानका सचिव प्रकाश गौतमले जानकारी दिनुभयो ।