हिटीमा नयाँ फिडर जडान,तमोर पारीका नागरिकमा विद्युत आपूर्तिको समस्या हट्ने संकेत

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १७ । नेपाल विद्युत प्राधिकरणको ताप्लेजुङ बितरण केन्द्रले तमोर पारीका ४ वटा पालिकालाई विद्युत आपूर्ति सहज बनाउन नयाँ फिडर जडान गरेको छ । केन्द्रले शनिवार साँझ देखि हिटी सव स्टेशनबाट नयाँ त्रिबेणी फिडर सञ्चालनमा ल्याएको छ ।

केन्द्र प्रमुख उमेश श्रेष्ठका अनुसार नयाँ जडान भएको फिडरबाट आठराई त्रिबेणी र मैवाखोला गाउँपालिकामा विद्युत आपूर्ति सहज हुने छ । यसअघि जडान भएको एक मात्र फिडरले तमोरपारीका मैवाखोला गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका,मेरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा विद्युत आपूर्ति हुने गरेको थियो । एकमात्र फिडरद्धारा ४ वटा गाउँपालिकाका विद्युत आपूर्ति गर्नुपर्दा फिडर अत्यन्त लामो भई ति क्षेत्रहरुमा पटक–पटक विद्युत अबरुद्ध हुने समस्या रहेको थियो ।

नयाँ फिडर जडान भएसंगै विद्युत नियमित हुन सजिलो हुने वितरण केन्द्रले जनाएको छ । उक्त क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भइरहेको भन्दै स्थानीय सरकारका प्रमुखहरुले बारबार विद्युत प्राधिकरण र वितरण केन्द्रको ध्यानाकर्षण गराउँदै आउनु भएको थियो । शनिवार फिडरमा सामान्य क्षमतामा छाडिएको विद्युत भार आइतवार देखि पूर्ण भार क्षमतामा छाडिएको वितरण केन्द्रले जनाएको छ ।

Similar Posts