ताप्लेजुङका तत्कालिन जिल्ला पञ्चायत सभापति भण्डारीको ८९ बर्षको उमेरमा निधन
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १८ । ताप्लेजुङका तत्कालिन जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ । हाल झापाको शिवसताक्षी नगरपालिका वडा नं ९ निवासी भण्डारीको ८९ बर्षको उमेरमा आइतवार निधन भएको हो ।
भण्डारी बिक्रम् सम्वत १९९४ साल मंसिर ८ गते ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङमा जन्मिनु भएको थियो । उहाँ राइटर मनप्रसाद भण्डारीका कान्छा छोरा हुनुहुन्छ । ताप्लेजुङ जिल्ला पञ्चायतका तत्कालिन सभापतिहरुमध्ये उहाँमात्र जीवित हुनुहुन्थ्यो ।
बिक्रम सम्वत् २०३३ सालको निर्वाचनबाट ताप्लेजुङको तत्कालिन जिल्ला पञ्चायत सभापति हुनु भएका भण्डारी निर्वाचित र कार्यवाहक गरी तत्कालिन जिल्ला पञ्चायतको ४ पटकसम्म सभापतिको जिम्मेवारीमा रहनुभयो ।
सामाजिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनु भएका भण्डारीलाई तत्कालिन राजा वीरेन्द्रले २०२९ साल बैशाख १ गते गोरखा दक्षिणबाहु प्रदान गर्नु भएको थियो । बद्दिलो परिस्थति र जनताको माग अनुसारको शासन व्यवस्था कार्यान्वयनमा आउनुपर्ने भनाईका पक्षपाति उहाँ सादगी जीवनका पर्याय मानिनुहुन्थ्यो ।