ताप्लेजुङमा मेडिकल अनुगमन,आमाको दुध प्रतिस्थापन गर्ने सामग्री सार्वजनिक स्थलमा राखी बिक्री गर्न नपाइने
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २४ । अनुगमन टोलीले ताप्लेजुङका मेडिकल पसलहरुलाई आमाको दुध प्रतिस्थापन गर्ने दुग्धजन्य सामग्री सार्वजनिक स्थलमा देख्नेगरी राखी बिक्री बितरण नगर्न सचेत गराएको छ ।
शनिवार स्वास्थ्य कार्यालय ताप्लेजुङको संयोजनमा मेडिकल हल,पोलिक्लिनक सहितको अनुगमन गर्दै टोलीले स्वास्थ्य मापदण्ड अनुसार कलर कोडेड गरेर गरेर फोहोरजन्य सामग्रीको व्यवस्थापन तथा बिर्सजन गर्न आग्रह गरिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । औषधिको हद म्याद भए नभएको,प्रतिवन्धित औषधिको बिक्री बितरण भए नभएको बारेमा समेत अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिनुभयो । मेडिकल हलहरुले पेश गर्नुपर्ने प्रतिबेदन नियमित रुपमा पेश गर्न र जनस्वास्थ्य ऐन अनुसारको मापदण्डमा आधारित रहेर औषधि पसल सञ्चालन गर्न गराउन सचेत गराईएको समेत अनुगमन टोलीले जनाएको छ ।
दर्ता तथा नविकरणका हुन नआएका औषधि पसलहरुलाई बैधानिक प्रकृया पूरा गर्न १५ दिनको समय दिईएको छ । औषधि पसलहरुले प्रतिवन्धित औषधिको बिक्री बितरण गरे नगरेको बारे सुुक्ष्म ढंगले अनुगमन गर्न थालिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो । अनुगमन कार्यदलले जनस्वास्थ्य ऐन अनुसारका न्यूनतम् मापदण्ड पूरा गरी नविकरणका लागि निबेदन दिएका केहि क्लिनिकहरुलाई नविकरण अनुमति प्रदान गर्ने समेत निर्णय गरेको स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसिउन निरीक्षक उदयनारायण दुलालले जानकारी दिनुभयो ।
औषधि पसल तथा मेडिकल हलहरुमा उत्पादन भएको औषधिजन्य फोहोर व्यवस्थापनमा कडाई गर्ने नीति अनुरुप मादपदण्ड अनुसार फोहोरजन्य सामग्रीको व्यवस्थापन नगरिरहेका मेडिकल हल तथा क्लिनिकहरुलाई अनुगमन टोली अन्तिम पटक सचेत गराई अब उप्रान्त यस्ता घटना दोहोरिए कानुन अनुसार हुने जानकारी समेत गराएको छ । प्रचलित दररेट अनुसार बिक्री बितरण भइ रहेको वा नरहेको,क्लिनिकहरुमा रहेका उपकरणको अवस्था समेतको स्वास्थ्य प्राविधिकहरुले परीक्षण समेत गरेको अनुगमन टोलीले जनाएको छ । आमाको दुध प्रतिस्थापन गर्ने दुग्धजन्य सामग्री बिक्री स्थलमा भेटे जफत गरिने बारेमा समेत मेडिकल तथा क्लिनिक सञ्चालकलाई जानकारी गराईएको स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले जानकारी दिनुभयो ।