साब्लाखुका बेसहारा दम्पतीलाई घर हस्तान्तरण
-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक वृद्ध दम्पतीलाई घर निर्माण गरेर हस्तान्तरण गरिएको छ । आफ्नै वंशका दाजुभाइको पहलमा घर निर्माण गरी असहाय तथा बेसहारा वृद्ध दम्पतीलाई हस्तान्तरण गरिएको हो ।
सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका मानबहादुर पन्दाक लिम्बू र श्रीमती फूलमाया देवान (पन्दाक) लाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । गाउँका आफ्नै वंशहरुको पहलमा घर निर्माण गरी समान ७२ वर्ष उमेर भएका वृद्ध दम्पतिलाई घर हस्तान्तरण गरिएको हो ।
घर निर्माण गर्ने पहलका लागि अगुवाई गर्नुभएका स्थानीय तेजस्वी (तेजबहादुर) पन्दाकका अनुसार गाउँका वंशहरु मिलेर घर निर्माण गरिएको हो । एक जोखिमयुक्त छाप्रोमा बस्दै आएका असहाय वृद्धि दम्पतीको दयनीय अवस्था देखेपछि घर निर्माणका लागि पहल गरिएको पन्दाकले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न पन्दाक वंश समाज तथा व्यक्तिगत रुपमा आर्थिक सहयोग जुटाएर घर निर्माण गरी असहाय दम्पतीलाई हस्तान्तण गरिएको हो । पन्दाक वंशबिच आपसी समन्वय र पहलमा संकलन भएको तीन लाख ४३ हजार रुपियाँ रकमबाट ढुंगा, माटो, काठ र जस्तापाताको प्रयोग गरी एकतले घर निर्माण गरेर भर्खरै वृद्ध दम्पतीलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।
संकलित रकम र जनश्रमदानबाट करिव साढे तीन हप्ता अर्थात ४० दिनभित्र घर निर्माण सम्पन्न गरेर वृद्ध दम्पतीलाई हस्तान्तरण गरिएको हो । सोही रकमबाट खाद्यान्न सामग्री, भाँडावर्तन, ओढ्ने ओछ्याउनेसहित लत्ताकपडासमेत खरिद गरेर उहाँहरुलाई उपलब्ध गराएको तेजस्वी पन्दाकले बताउनुभयो ।
उहाँका अनुसार पन्दाक वंशका अन्तर्राष्ट्रिय संस्थाहरु, पन्दाक वंशका सरकारी जागिरे तथा ब्रिटिस र सिंगापुर आर्मीमा कार्यरत सदस्य, युरोप, अमेरिका, खाडी लगायतका राष्ट्रमा वैदेशिक रोजगारी गर्दै आएका र अन्य आफन्त सहयागीबाट रकम संकलन गरिएको थियो । नयाँ घर पाएपछि नाताले काका काकी पर्ने वृद्धि दम्पतीमा खुशी छाएको पन्दाकले बताउनुभयो ।
सुस्त मनस्थितिकासमेत रहेका असहाय तथा वृद्ध दम्पतीको आफ्नो सन्तान भने जायजन्म नै नभएको हो । वृद्ध अवस्थाले गर्दा खेती कमाइ र अन्य काम गर्ने स्थिति नभएपछि उहाँहरु (वृद्ध दम्पती) सामाजिक सुरक्षा भत्ता रकमको साहरामा बाँच्दै आउनुभएको साब्लाखुका वडाध्यक्ष पूर्णकुमार लिम्बूको भनाइ छ ।