राष्ट्रियसभाको बिधायन समितिका सभापतिको नेतृत्वमा ८ जना सांसदको टोली ताप्लेजुङमा
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १६ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बुधवार ताप्लेजुङको पाथीभरा क्षेत्र,केवलकार निर्माणको विवाद सहितका बिषयमा सरोकारवालासंग छलफल गरेको छ ।
समितिका सभापति मायाप्रसाद शर्माको संयोजकत्वमा ८ जना राष्ट्रियसभाका सदस्यहरु छलफलका लागि फुङलिङ आईपुग्नु भएको छ । समितिका सभापति शर्माका अनुसार कोशी प्रदेशका फुङलिङसहित दुई स्थानीय तह र प्रदेश स्तरमा समितिले आफ्नो कार्यक्षेत्रसंग सम्वन्धित बिषयमा सरोकारवालाको राय लिएको छ । छलफलका क्रममा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले संरक्षण क्षेत्रमा रहेका जलविद्युतको निर्माण,पर्यटन रोयल्टी सहितका बिषयमा ध्यानाकर्षण गर्नुभयो ।
पाथीभरा(मुक्कुमलुङ)केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक समेत रहनु भएका उहाँले पाथीभरा क्षेत्रमा केवलकार बन्न नहुने आन्दोलन जारी रहेको र केवलकार बन्न नहुने धारणा कायम रहेको बताउनुभयो । उहाँकै धारणा जस्तै नीवन पोमू,सरोज कङ्लिवा सहितले पाथीभरा क्षेत्रमा केवलकार बन्न नहुने राय राख्नुभयो । फुङलिङ नगरप्रमुख अमिर मादेन,नगरपालिकाका केहि वडाध्यक्षहरु,पाथीभरा क्षेत्रको केवलकार निर्माणको जिम्मेवारी पाएको हिमालयन् कन्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमले केवलकार विकासको साधक भएकोले प्रकृति र संस्कृतिको संरक्षण गर्दै केवलकार निर्माण प्रकृयालाई थप गतिदिन सहयोगको याचना गर्नुभयो ।
नगरप्रमुख मादेन विकास र समृद्धिका लागि केवलकार अत्यावश्यक रहेको बताउँदै स्थानीयबासीको ठूलो समूह केवलकारको पक्षमा रहेको बताउनुभयो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रकृयाको पहल भइरहेको बताउँदै यसका लागि समितिकोतर्फबाट भरपूर सहयोग हुनुपर्ने बताउनुभयो । ‘नो केवलकार पक्ष’समितिलाई ज्ञापन पत्र समेत दिएको जनाएको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य सचिव सञ्जय दाहालले पुरातात्विक महत्वका स्थलहरुको संरक्षण,उठेका बिबाद र निरुपणका उपायहरुको खोजीका लागि समितिकोतर्फबाट स्थलगत रुपमै छलफल र परार्मश गरिएको जानकारी दिनुभयो ।
समितिका सभापति शर्माले प्रतिनिधिसभा विगठनको अवस्थामा राष्ट्रियसभा क्रियाशिल र जीवन्त रहि आएको बताउँदै समितिले आफ्नो कार्यक्षेत्रका बिषयमा छलफल तथा परार्मश जारी राख्ने जानकारी दिनुभयो । शर्माको नेतृत्वमा रहेको टोलीमा समितिका सदस्यहरु क्रमशःगोमादेवी तिमल्सिना,नरबहादुर बिष्ट,मदनकुमार शाह,रुकमिणी कोईराला,रेणु चन्द,कृष्णप्रसाद अधिकारी र सुमित्रा बिसी रहनु भएको छ । उक्त टोलीले पाथीभरा मन्दिर क्षेत्र र केवलकार निर्माणाधिन क्षेत्रको समेत अनुगमन गरेको शर्माले जानकारी दिनुभयो ।