मानाभरा गोल्डकपः लालीगुराँस र जनसेवा आदर्श सेमिफाइनलमा प्रवेश
-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १६ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी आमन्त्रित प्रथम मानाभारा गोल्डकप पुरुष फुटलबल प्रतियोगितामा लालीगुराँस स्पोर्टिङ युवा क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब सेमिफाइल प्रवेश गरेका छन् ।
बुधबार भएको क्वार्टरफाइनल अर्थात पहिलो चरणको खेलमा स्थानीय सिँवा स्पोर्टिङ क्लबलाई ४–० गोलले पराजित गर्दै लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिम विजयी भएको हो । लालीगुराँसका लागि हिटेन लिम्बूले एक र दीपेश बेघा लिम्बूले एक्लै तीन गोल गर्नुभएको थियो ।
यस्तै बुधबार नै भएको खेलमा आमन्त्रित पाहुना टोली लिखुभुजी युथ क्लब रापेछापलाई २–१ गोलअन्तरले पराजित गर्दै जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसाँघु विजयी भएको हो । जनसेवा आदर्शका लागि विशाल लिम्बू र सुरेन्द्र लिम्बूले एक–एक गोल गर्नुभएको थियो । लिखुभुजीका तर्फबाट पवन बुढाक्षेत्रीले सुरुवाती गोल गर्दै अग्रता लिएको भए पनि थप गोल गर्न नसकेपछि पराजित हुनुप¥यो ।
लिखुभुजी युथ क्लबका कप्तान चिना लामाले खेलको मध्यान्तरअघि नै दुई पटक पहेलो कार्ड पाउँदै बाहिरिनु परेपछि लिखुभुजी आठ खेलाडीमा सीमित हुनुपरेको थियो । यता मङ्गलबार भएको उद्घाटन खेलमा आयोजकलाई ५–३ गोलअन्तरले हराउँदै आठराई त्रिबेणी गाउँपालिकाको माछापोखरी हिटी क्लब चाँगे सेमिफाइनलमा पुगेको छ ।
अब क्वार्टरफाइनलको अन्तिम खेल बिहीबार नवप्रयास यथ क्लब हाङ्देवा र प्रगतिशील युवा क्लब मेरिङ्देनबिच हुने आयोजक मानाभरा स्पोर्टिङ क्लबका संरक्षक एवम् फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) ले जानकारी दिनुभयो । यता प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छन् । आयोजक क्लबका अध्यक्ष तुलसी दाहालका अनुसार प्रतियोगिताको फाइनल शनिबार हुने छ ।