फक्ताङलुङले ६०–७० बर्ष उमेरका नागरिकलाई मासिक भत्ता दिने,सरकारी कामकाजमा लिम्बू र शेर्पा भाषाको प्रयोग गरिदैं
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि ७० बर्ष उमेर समूहका नागरिकलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले सामाजिक सम्मान स्वरुप पालिकाको सामाजिक उत्तरदायित्वको रुपमा भत्ता उपलब्ध गराउने ऐतिहाँसिक निर्णय भएको जानकारी दिनुभयो । तर,मासिक कति रकम उपलब्ध गराइने भन्ने बारेमा भने पालिकाले केहि भनेको छैन । संघीय सरकारबाट उपलब्ध हुने जेष्ठ नागरिक भत्ता भने ७० बर्ष पछि मात्र उपलब्ध हुने छ ।
६० देखि ७० बर्ष उमेर समूहका नागरिकले भोग्दै आएको आर्थिक तथा सामाजिक संक्रमणकाललाई सम्बोधन गर्न पालिकाले उक्त निर्णय लिएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । सीमित स्रोत साधनका वावजुत जेष्ठतर्फ उन्मुख नागरिकको जीवन यापनमा सहजीकरण गर्ने तथा जेष्ठ नागरिकको योगदानको सम्मानका लागि पालिकाले ६० देखि ७० बर्ष उमेर समूहका नागरिकलाई मासिक भत्ता उपलब्ध गराउने पालिकाले बताएको छ ।
पालिकाले न्यून तलवमानमा कार्यरत बिद्यालयका लेखापाल,भाषा शिक्षक,बाल शिक्षिका र कार्यालय सहयोगीको हाल प्राप्त भइरहेको तलवमानको १० प्रतिशत बृद्धि गर्ने भएको छ । पालिकाले चालु आर्थिक बर्ष २०८३।८४ भित्रै १५ शैयाको सामुदायिक अस्पताल निर्माणका लागि बोलपत्र आवह्वान गर्ने भएको छ ।‘विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै’भन्ने अवधारणालाई कार्यान्वयन गर्न पालिकाले समुदायको साझेदारीमा सामुदायिक अस्पताल निर्माणको प्रकृया सुरु गर्ने पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
पालिका अध्यक्ष लिम्बूले २० औं गाउँसभा अधिबेशनमार्फत चालु आवका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत सामुदायिक अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । भूगोल ठूलो भएको र भौगोलिकता कठिन र जटिल रहेको महशुष गर्दै पालिकाले पालिकाको तल्लो भेगका नागरिकलाई समेट्ने गरी सिँवा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी कम्तिमा एमबिबिएस डाक्टर रहनेगरीको सुविधा प्रदान गर्ने तयारी गरेको समेत पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । पालिकाको केन्द्र भने वडा नं ५ तापेथोकमा रहेको छ । त्यहाँ रहेको स्वास्थ्य संस्थामार्फत चिकित्सकीय सेवा प्रदान भइरहेको छ ।
पालिका भित्रका नागरिकलाई जिल्ला बाहिर उपचार गर्न जाँदा एम्बुलेन्स सेवा लिए वापत ५० प्रतिशत शुल्क मिनाह तथा रोगीको आर्थिक अवस्था हेरी २५ हजार देखि १ लाख रुपैयाँसम्म हुँदै आएको सहयोगलाई पालिकाले चालु आवमा समेत निरन्तरता दिने भएको छ । पालिकाले स्वास्थ्यकर्मीको सिफारिसका आधारमा जिल्ला सदरमुकामसम्म एम्बुलेन्स लिएर जानुपर्ने बिरामीलाई निःशुल्क रुपमा सेवा दिदैं आएको समेत जनाएको छ । २०८० साल देखि आव २०८२।८३ सम्ममा १ हजार ४ सय जनाले निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गरेको पालिकाले जनाएको छ ।
पालिकाले बिद्यालयले लिने परीक्षा शुल्क,मासिक शुल्क,ट्युसन शुल्क तथा अन्य अनिवार्य शुल्क पालिकाबाट व्यवस्थापन गर्ने भएको छ । यसअघि यस्तो शैक्षिक व्यवस्था आठराई त्रिबेणी गाउँपालिका,सिदिङ्वा गाउँपालिका र मैवाखोला गाउँपालिकाले गरिसकेका छन् । पालिकाले सरकारी कामकाजमा लिम्बू र शेर्पा भाषाको प्रयोगलाई कार्यान्वयन गर्ने भएको छ । स्थानीय भाषा,संस्कृति र पहिचानको संरक्षण,प्रर्वद्धन तथा सार्वजनिक सेवा प्रवाहमा नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो व्यवस्था कार्यान्वयन गरिने पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।