नगर कमिटी अध्यक्ष माथि धारिलो हतियार प्रहार भएको भन्दै युवा संघद्धारा घटनामा संलग्नलाई कारवाहीको माग

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २७ । राष्ट्रिय युवा संघ नेपालको फुङलिङ नगर कमिटी ताप्लेजुङले नगर कमिटी अध्यक्ष सन्तोष लिम्बूलाई धारिलो हतियार प्रहार भएको भन्दै घटनामा संलग्नको खोजी गरी कानुनी कारवाहीको माग गरेको छ ।

नगर कमिटी उपाध्यक्ष काजी सुनुवारले एक प्रेस विज्ञप्ति जारी गर्दै शुक्रवार साँझ फुङलिङ बजारको तोक्मे क्षेत्रमा हिडीरहेको अवस्थामा अध्यक्ष लिम्बू सवार मोटरसाइकल रोकी सांघातिक आक्रमण भएको दावी गर्नु भएको छ । विज्ञप्तिमा फुङलिङ नगरपालिका वडा नं ४ का अशोक लिम्बू र सुरज लिम्बू सहितको समूह घटनामा संलग्न भएको दावी गरिएको छ ।

विज्ञप्तिमा युवा संघ नेपाल लोकतन्त्र,विधिको शासन र कानुनी राज्यको पक्षमा दृढ रहेको बताउँदै लुकिछिपी र साँघातिक आक्रमण गर्ने व्यक्तिको खोजी गरी उनीहरुलाई कानुनी दाहेरामा ल्याउन युवा संघ नेपालले प्रशासनको ध्ययानकर्षण गराएको छ । घटनामा घाइते भएका लिम्बूको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको अस्पतालले स्रोतले जनाएको छ ।

Similar Posts