भानुमा सुरु भयो नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १२ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवारबाट सुरु गरेको छ ।

प्रतियोगिताको नगरप्रमुख अमिर मादेनले खेलस्थल भानुजन माविको खेलमैदानमा उद्घाटन गर्नु भएको छ । नगरपालिका क्षेत्रका बिद्यालयहरुको सहभागितामा सुरु भएको प्रतियोगिता सोमवार सकिने गरी तय भएको फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा नगर खेलकुद विकास समिति अध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । सुनुवार फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष समेत हुनुहुन्छ । प्रतियोगिता सुरु हुनुअघि सहभागी बिद्यालयहरुले मार्च पास गरेका थिए । ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिदिङ्वा र मैवाखोलाले यसअघि नै प्रतियोगिता सम्पन्न गरी जिल्ला स्तरीय प्रतियोगिताका लागि बिद्यार्थी छनौट गरिसकेका छन् । १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला स्तरीय प्रतियोगिता भने यसबर्ष सिदिङ्वा गाउँपालिकामा हुँदैछ ।

जिल्ला स्तरीय प्रतियोगिता पालिका–पालिका स्तरमा सञ्चालन गर्ने जिल्ला खेलकुद विकास समितिको योजना अनुसार यसबर्ष सिदिङ्वाको साब्लाखुस्थित रंगशालामा जिल्ला स्तरीय प्रतियोगिता हुँदैछ । यसअघि जिल्ला सदरमुकाममा केन्द्रित प्रतियोगिताको १३ औं संस्करण सिरिजङ्गाको तेल्लोक,१४ औं आठराई त्रिबेणीको फुलवारीस्थित महभीर खेलमैदान,१५ औैं मैवाखोला गाउँपालिकाको साँघुस्थित नारायणी मावि साँघुको खेलमैदानमा सम्पन्न भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरीय प्रतियोगिताको आधिकारिक मिति निर्धारण नगरेपनि माघ १६ बाट गर्ने की भन्ने बारेमा छलफल सुरु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)ले जानकारी दिनु भएको छ । जिल्ला खेलकुद समितिले यथाशीघ्र जिल्ला स्तरीय प्रतियोगिताको मिति निर्धारण गर्ने तयारी गरेको छ । नगरपालिका स्तरीय प्रतियोगिताको उद्घाटन सत्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मावो लिम्बू सहितले सम्बोधन गर्नु भएको थियो ।

 

Similar Posts