ताप्लेजुङको थेचम्बुका पसल अनुगमन: खाद्यान्न बेच्ने पसलमा मेटासिट देखि झिंगा मार्ने बिषादीसम्म भेटिए

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाको पूर्णेडाँडाका खाद्यान्न सहितका दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसलहरुमा मेटाटिस देखि झिंगा मार्ने औषधिसम्म फेला परेपछि बजार अनुगमन टोलीले जफत गरी व्यवसायीलाई सचेत गराएको छ ।
फुङलिङबाट सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले थेचम्बु पूर्णेडाँडाका १९ वटा पसलको अनुगमन गरेको थियो । त्यसमध्ये खाद्यान्न सहितका दैनिक उपभोग्य बस्तु बिक्री गर्ने एक पसलमा मोटो परिमाणमा मेटासिट र अर्को पसलमा झिंगा मार्ने बिषादी फेलापरेपछि अनुगमन टोलीले जफत गरी नष्ट गर्नुका साथै अब उप्रान्त बिक्री नगर्ने सर्तनामा गराएको छ ।‘या त इजाजत लिएर छुट्टै पसल सञ्चालन गर्नुपर्यो,नभए खाद्यान्न बिक्री गर्ने पसलमा मेटासिट र झिंगा मार्ने औषधि बिक्री गर्न बन्देज गरिएको छ‘सहायक प्रजिअ खड्काले भन्नुभयो । उहाँले दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसलहरुमा बिषादी सहितका सामान फेला पर्नु न्यूनतम् व्यवसायिक मापदण्ड विपरित रहेको समेत जानकारी दिनुभयो ।
पाथीभरा याङ्वरक गाउँपालिकाको अनुगमन कार्यदल समेत समावेश भएको अनुगमन टोलीले उपभोग्य म्याद सकिएका सामग्री जफत गरी नष्ट गरेको छ । त्यसक्रममा मोटो मात्रामा पेय पदार्थ,चकलेट,उत्पादन म्याद र उपभोग्य म्याद नभएका सामाग्री जफत गरेको अनुगमन समितिले जनाएको छ । व्यवसायीले आफुहरुले खरिद गरेको एकदुई दिनमात्र भएको तर अनुगमनका क्रममा म्याद सकिएको भेटिएको बताएपछि अनुगमन समितिले खरिदकर्ताले समेत उपभोग्य म्याद भएका सामग्रीमात्र खरिद गर्न सुझाएको छ । पूर्णेडाँडाका पसलहरुमा एक प्रकृतिको व्यवसाय दर्ता गरी थरीथरीका सामग्री बिक्री गर्दै आएको,मूल्य सूची नराखेको,मूल्य सूची राखेका पसल सञ्चालकले समेत त्यसको नियमित अद्यावधिक गर्ने नगरेको,केहि पसल सञ्चालकहरु दर्तामै नआएको जस्ता व्यवसायिक कैफियत देखिएको अनुगमन टोलीका सदस्य तथा घरेलु कार्यालय ताप्लेजुङका उद्यम विकास सहजकर्ता नवीन भट्टराईले जानकारी दिनुभयो ।
अनुगमनमा संलग्न ताप्लेजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शान्ति मादेनले दर्ता,नविकरण,व्यवसाय थप र उपभोग्य म्यादका बिषयमा समस्या रहेका भन्दै बैधानिक प्रकृया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न अनुगमन टोलीले सल्लाह दिएको जानकारी दिनुभयो । अनुगमन टोलीले पसलमा राखिने सामानको व्यवस्थापन र सफाईमा ध्यान दिन,बैधानिक प्रकृया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न,व्यवसायको प्रकृति अनुसार दर्ता तथा नविकरण प्रकृयामा जान,दर्ता हुँदाका बखत बिक्रीबितरणका लागि अनुमति प्राप्त सामाग्री मात्र बिक्री बितरण गर्न,बिक्रेतालाई बिल अनिवार्य दिन समेत व्यवसायीलाई सचेत गराएको छ ।
पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले पालिकातहमा रहेको अनुगमन समितिले समेत पालिका क्षेत्रका बजार पसलको अनुगमनलाई निरन्तरता दिने बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक स्थानीय तहमा पालिकाका उपपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा अनुगमन निर्देशक समिति बनाउन सकिने छ । पालिकाले बजार अनुगमनका लागि कार्यविधि बनाई कार्यान्वयनमा लैजान पाउने अधिकार समेत पाएका छन् । पाथीभरा याङवरकले कार्यविधि अनुसार अबको अनुगमनमा कडाई गर्ने बताएको छ ।