ताप्लेजुङमा सामाजिक जवाफदेहिता तथा सामाजिक परीक्षण सम्बन्धी अभिमुखीकरण सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ चैत २९ । स्वास्थ्य कार्यालय तालेजुङको आयोजनामा सदरमुकाम फुङलिङमा बिहीबारबाट दुइदिने स्वास्थ क्षेत्रका लागि सामाजिक जवाफदेहिता तथा सामाजिक परीक्षण सम्बन्धी अभिमुखीकरण सुरु भएको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका ल्याव टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार सो अभिमुखीकरणमा यहाँ रहेका ९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा सामाजिक परीक्षणमा संलग्न स्वतन्त्र व्यक्ति समेत गरी १९ जनाको सहभागिता रहेको छ । तालिम अवधिमा स्वास्थ्य प्रणाली र प्राथमिकतामा रहेका स्वास्थ्य कार्यक्रम, स्वास्थ्य क्षेत्रको सामाजिक जवाफदेहिता,स्वास्थ्य क्षेत्रको सामाजिक जवाफदेहिताको लागि सामाजिक परीक्षण, सामाजिक परीक्षणको संस्थागत व्यवस्था,सामाजिक परीक्षणका चरण र सामाजिक परीक्षणका लागि सरोकारवालाको पहिचान सहितका बिषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान भएको फुङलिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले जानकारी दिनुभयो ।

अहिले देशभरका सबै स्वास्थ संस्थाको बार्षिक रुपमा सामाजिक परीक्षण गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ । स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गर्दा सेवाग्राही–सेवा प्रदायक र व्यवस्थापक सहितको उपस्थितिमा नीतिगत व्यवस्था र त्यसको कार्यान्वयन, आम्दानी तथा खर्चको विवरण,सेवा प्रवाह र सेवा सन्तुष्टीको अवस्था कस्तो छ भनेर विश्लेषण गर्ने गरिन्छ । यसपछि तेस्रो पक्ष अथवा सामाजिक परीक्षणकर्ताद्वारा प्राप्त उपलब्धी तथा नतिजा सार्वजनिक गरी जिम्मेवारी सहितको सुधारको कार्ययोजना तयार हुन्छ । त्यो सुधारको योजना कार्यान्वयन गर्नु सम्वन्धित सेवा प्रदायक निकायको दायित्व हुने छ ।

Similar Posts