|

जनतालाई सार्वभौम बनाई राष्ट्रिय गौरव बढाउन एमालेले मिसन ८४ अघि सारेको हो ः ओली

खगेन्द्र अधिकारी
ताप्लेजुङ चैत २९ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै राष्ट्रिय गौरव बढाउन एमाले बाहेक अर्को शक्तिबाट सम्भव नभएकोले ‘मिसन २०८४’त्यसकै निम्ति अघि ल्याईएको बताउनु भएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठान तथा एमाले ताप्लेजुङको नवनिर्मित भवनको बिहीबार फुङलिङमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता कमजोर भएको,राष्ट्रिय स्वाभीमानमा आँच आन थालेको र विकास,समृद्धि र सुशासनमा समस्या देखा पर्न थालेको बताउनुभयो । यस्ता समस्या धेरै दिन कायम रहन हुन्न भन्ने मनशायले नै गठबन्धन भाचिदिएर आफुहरुले नयाँ समिकरण बनाएको ओलीको बोली थियो । ओलीले नयाँ बनेको सत्ता साझेदारीलाई गठबन्धन भन्न रुचाउनु भएन । उहाँले अहिलेको गठबन्धन नभई समिकरण मात्र भएको रुपमा बुझ्न आग्रह समेत गर्नु भएको छ । उहाँले मिसन २०८४ को लक्ष्य पूरा गर्न आफुलाई केन्द्र राख्ने प्रवृत्तिको अन्त्य गर्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ । काँग्रेसलाई पात झरेर थोत्रो भइसकेको रुखको संज्ञा दिदै ओलीले भन्नुभयो‘म काँग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मूना पलाओस् भन्छु,काँग्रेस मति बिगारिरहन्छ’ ।

ओलीले ताप्लेजुबाटै इलाम–२ र बझाङ उपनिर्वाचनका निर्वाचनमा होमिएका एमाले उम्मेदारको मत माग्नु भएको छ ।‘पढेलेखेका,बिद्धान,युवा,सालिन र माटो सुहाउँदो सुहाङ नेम्बाङलाई मत दिएर जिताउन म इलामका रहेका तपाँईका साथीभाई,आफन्त र भानाभाञ्जा सबैलाई खबर गर्दिन आग्रह गर्छु,ताप्लेजुङका कार्यकर्तामाझ ओलीले भन्नुभयो । उहाँले बझाङका एमाले उम्मेदवार शसक्त र सृजनशिल व्यक्ति भएकोले निर्वाचनमा जित्नेमा विश्वस्त रहेको बताउनुभयो ।

अनावश्यक राजनीतिक फण्डा,मिडियाबाजी र स्टनबाजीले जनताको मत जित्न नसकिने भन्दै उनले नयाँ राजनीतिक दलहरुप्रति कटाक्ष समेत गर्नु भएको छ । राष्ट्र र जनतालाई बलियो बनाउँदै मुलुकलाई शान्ति,स्थायित्व,समृद्ध र स्वाभीमानले भरिएको सार्वभौम जनताको भावना कायम राख्न आफुहरुले मिसन २०८४ को संकल्प गरेको र त्यो पूरा हुने उहाँले बताउनुभयो । ओली सहितका नेताको सम्मानका युवा संघ नेपाल ताप्लेजुङको संयोजनमा कार्यक्रम अवधिभर स्वयंसेवी दस्ता परिचालन गरिएको युवा संघ नेपाल ताप्लेजुङका अध्यक्ष मनोज चोङवाङ लिम्बूले जानकारी दिनुभयो ।
ताप्लेजुङको बिषयमा शुक्रवार ओलीले प्रधानमन्त्रीलाई भेट्ने
ताप्लेजुङ आईपुग्नु भएका ओलीको पहिलो यात्रा ताप्लेजुङको प्रमुख पर्यटकिय स्थल ओलाङ्चुङसम्म थियो । उहाँ काठमाडौंबाट सिध ओलाङचुङगोलातर्फ गए र त्यहाँ कार्यक्रम सकेर फुङलिङ आउनुभयो । ओलाङ्चुङगोलामा उहाँलाई स्थानीयले ट्रयाक ओपन भएको तमोर करिडोर अन्र्तगत फुङलिङ ओलाङचुङगोला सम्मको सडकको स्तरोन्नतीको कार्य तत्काल थाल्ने वातावरण मिलाउन,यो सडक खण्डमा आवश्यक पर्ने पक्की पुल निर्माण तत्काल अघि बढाउन,कोरोना संक्रमणकाल देखि बन्द भएको नेपाल–चीनको स्वसासित क्षेत्र तिब्बतको सीमानाका टिपताला भञ्ज्याङ तत्काल सञ्चालनमा ल्याउन माग पत्र पेश गरेका थिए ।

फुङलिङ आईपुग्नु भएका उहाँलाई बिभिन्न संघसंस्थाहरुमार्फत पनि माग पत्र पेश भए । सो देखेपछि ओलीले कार्यक्रमस्थलबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी ताप्लेजुङको अवस्था बताउनुभयो ।‘मैले प्रधानमन्त्री जीलाई यहीबाट फोन गरें,यहाँका मागका बारेमा मैले उहाँलाई बताएको छु,बिस्तृत कुरा म शुक्रवार प्रधानमन्त्री जीसंग भेटेर कुरा गर्ने गरी मिति तय भएको छ’ओलीले कार्यक्रमस्थलबाटै भन्नुभयो । उहाँले आफु ताप्लेजुङवासीले उठाएका मागप्रति सकारात्मक रहेको समेत दोहो¥याउनुभयो ।
तीनबर्ष भित्र पूरा हुनेगरी तमोर करिडोरमा रकम बिनियोन हुन्छ ः भौतिक पूर्वाधारमन्त्री
ओलीसंगै ताप्लेजुङ आउनु भएका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले आगामी आर्थिक बर्ष २०८१।८१ को बजेटमार्फत नै तीनबर्ष भित्रमा तमोर करिडोरको टिपताला भञ्ज्याङ सम्मको सडक खण्ड स्तरोन्ती भई बाह्रैकाल सवारी कुद्ने गरी बनाउने घोषणा गर्नु भएको छ ।‘तीनबर्षभित्र पूरा हुनेगरी आगामी आवको बजेट वक्तव्यमार्फत नै यस खण्डमा बजेट बिनियोजन हुन्छत्यो मैले बचन दिएँ’महासेठले थप्नुभयो । तमोर करिडोर त्रिदेशीय सबैभन्दा छोटो नाका भएकोले यसलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट व्यवस्थापन गर्न पूर्व प्रधानमन्त्री ओली र प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले निकै ठूलो चासो र चिन्ता लिएको मन्त्री महासेठले बताउनुभयो ।

कार्यक्रममा उपस्थित एमाले सचिव तथा सांसद योगेशकुमार भट्टराईले एमाले सधैं सभ्यता र पहिचानको पक्षमा रहेको बताउँदै विकासमा रोक्ने नाममा हुने गरेका अवरोधहरु दुःखद् र दुर्भाग्यपूर्ण हुने बताउनुभयो । उहाँले केवलकार निर्माण सहितका बिषयमा भइरहेको बाद प्रतिवादबारे गम्भिर छलफल गर्न सकिने भएपनि विकासमा बिरोध गर्न नहुने दोहो¥याउनुभयो । कार्यक्रममा एमाले नेता तथा रक्षामन्त्री हरि उप्रेति सहितको उपस्थिति रहेको थियो ।

एमाले पूर्व जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङका अनुसार कूल ३ करोड २५ लाख ८७ हजार ९ सय ५० रुपैयाँको लागतमा मदन स्मृति भवन तथा एमाले पार्टी कार्यालय भवन बनेको हो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद उर्मिला थेबे,एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद टंक आङवुहाङ,केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य पासाङ शेर्पा,युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे,एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी,जिसस प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,बिभिन्न पार्टीका जिल्ला प्रमुखहरु सहित बिभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

एमाले जिल्ला अध्यक्ष भूपेन्द्र थेबेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष सन्तोष खतिवडाले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।

Similar Posts