| |

बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन माग

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असार ४ । ताप्लेजुङका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेर बाढीपहिरो पीडितलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति दिलाउन माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।
प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर विभिन्न १० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । बाढी र पहिरोमा परी ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने, बाढीपहिरोका कारण घरबारबिहीन भएकालाई सुरक्षित आवास तथा खाद्यान्नका व्यवस्था गर्नुपर्ने ज्ञपानपत्रमार्फत माग गरिएको छ ।
यस्तै आवास बिहीन भएका परिवारलाई स्थायी आवासको व्यवस्था गर्नुपर्ने, बाढीपहिरोमा परी घाइते भएकालाई उपचारको व्यवस्था गर्नुपर्ने, क्षतिग्रस्त सडक र पुल तत्काल निर्माण गरी यातायात सुचारु गर्नुपर्ने माग गरिएको छ । जोखिममा परेका बस्तीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने, बाढीपहिरोका कारण क्षति भएका स्वास्थ्यचौकी भवन, विद्यालयलगायत सार्वजनिक संरचनाहरु पुनः निर्माण गरी तत्काल सुचारु गर्नुपर्ने माग पनि प्रधानमन्त्रीसमक्ष राखिएको छ ।
त्यस्तै बाढीपहिरोले अवरुद्ध बनेको विद्युत, टेलिफोन सेवा तथा पेट्रोलिय पदार्थको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने, पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारी निकाय, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि लगायतका संघ संस्थाको एकीकृत परिचालनको व्यवस्था मिलाउनसमेत माग गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन प्रतिनिधिसभा सदस्य भट्टराईसहित ताप्लेजुङबाट नै प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यद्वय लीलादेवी बोखिम, उर्मिला थेबे, प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री, एमाले जिल्ला अध्यक्ष भूपेन्द्र थेबेलगायत जानुभएको थियो ।
यता पाँच दिनदेखि निरन्तर वर्षा भइरहेको र वर्षासँगै गएको बाढीपहिरोमा परी ताप्लेजुङ हालसम्म तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता हुनुभएको छ । त्यस्तै दुईजना घाइते हुनुभएको छ । यता बाढीपहिरोले दर्जनौ घर बगाएको छ भने सयौं परिवारहरु बाढीपहिरोको उच्च जोखिमका कारण विस्थापित भएका बताइएको छ । गाई, भैँसी, हाँस, कुखुरालगायत दर्जनौ पशुचौपाया र पन्छी बाढीपहिरोले बगाएको पनि प्रहरीले जनाएको छ ।
यसैगरी अधिकांस सडक क्षतिग्रस्त भएका छन् भने आधा दर्जन मोटरेवल पुल, दर्जनौ झोलुङगे पुलमा बाढीपहिरोले क्षति पु¥याएको छ । स्वास्थ्यचौकी, विद्यालय भवन, जलविद्युत आयोजनाका पाइपलाइन, विद्युत गृहलगायतका भौतिक संरचनाहरुसमेतमा बाढीपहिरोले क्षति पु¥याएको छ । नगदेबाली अलैँची र किसानले लगाएका खाद्यान्न बालीहरुमासमेत क्षति पुगेको छ । यसरी बाढी र पहिरोले धेरै पु¥याएको भए पनि यकिन विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts