सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउँदै ताप्लेजुङ प्रशासन,तोक लगाउने अधिकारी अब सम्वधित फाँटमै
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १९ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता र पासपोर्ट सहितका कागजातमा तोक लगाउने तथा अन्तिम कागजमा हस्ताक्षर गर्ने अधिकारीलाई कार्य अवधि भर सम्वन्धित फाँटमै राख्न थालेको छ । सेवाग्राहीलाई तोक लगाउने सहितका कार्यमा कोठा–कोठा कुदाउनुपर्ने अवस्थाको अन्त्य गर्न प्रशासन कार्यालयले सेवा प्रवाहमा एकद्धार नीति लिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।
नागरिकता सहितका कागजातको प्रारम्भिक चरणको रुजु गरी अन्य कार्यमा लागि सम्वन्धित फाँटमा पठाउने कार्य सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट हुँदै आएको थियो । प्रशासन कार्यालयले सेवा प्रवाहमा बिचौलियाको प्रभाव हुन नदिन बढी भन्दा बढी जनसम्पर्क हुने कार्यालयहरुमा सुक्ष्म अनुगमन समेत थालेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सेढाइँले जिल्ला प्रशासन कार्यालयमा यसअघि बाटनै नागरिक सहयाता कक्ष,डिजिटल सूचना प्रणाली,स्तानपान कक्ष,सेवाग्राही बिश्रामस्थल,राहदानीको निःशुल्क अनलाइन फारम भरिदिने प्रवन्ध,कार्यालय प्रयोजनमा आवश्यक पर्ने कागजातका प्रतिलिपिको निःशुल्क बितरण सहितका सेवाहरु नियमित भइरहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय,नापी कार्यालय र अन्य यस्तै सेवाग्राहीको बढी चाँप हुने सेवा प्रदायक निकायहरुमा बिचौलियाको प्रभाव हुन नदिईएको र पछिल्लो अवस्था बारे कार्यालयले नियमित अनुगमन सुरु गरेको सेढाइँले जानकारी दिनुभयो ।
‘हामी कामको प्रकृति अनुसार एउटा झ्यालबाट छिरेको फायल काम सकिएपछि फेरि उक्त झ्यालबाटै सेवाग्राहीलाई फिर्ता दिने गरीको सोच अनुसार अघि बढेका छौं’सेढाइँले भन्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय सहितका सेवा प्रदायक निकायहरुमा अब ‘भनसुन’को प्रणाली अन्त्य गर्ने बताउनुभयो । जिल्लाका सार्वजनिक निकायहरुले प्रदान गरिरहेको बस्तु तथा सेवा प्रवाहको नियमितता,गुणस्तरीयता,छिटो छरितोपन र चुस्त तथा दुरुस्त कार्य प्रणाली बारे कार्यालयले योजना बनाएर प्रगति हाँसिल गर्ने लक्ष्यमा अघि बढेको सेढाइँले बताउनुभयो । सुशासन सहितको सेवाग्राहीमैत्री र उत्तरदायीपूर्ण सेवा प्रदान गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका कार्यालयका प्रमुखहरुको बैठकमार्फत समेत योजना बनाएको र उक्त योजना अनुसार अघि बढ्न सम्वन्धित कार्यालय प्रमुखलाई मार्गनिर्देशन समेत प्रदान भएको सेढाइँको भनाई छ ।