फक्ताङलुङद्धारा हिमताल तथा बाढी पूर्व सूचना प्रणालीको अवधारणात्मक नक्सा सार्वजनिक
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले हिमताल तथा बाढी पूर्व सूचना प्रणालीको अवधारणात्मक नक्सा सार्वजनिक गरेको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिकाले आगामी दिनमा हिमताल तथा बाढी पूर्व सूचना प्रणाली जडान गर्नेगरि अवधारणा अघि सारेको र सोहि अनुसार पूर्व सूचना प्रणालीको अवधारणात्मक नक्साको नमूना तयार भएको जानकारी दिनुभयो । नदी तथा खोला किनारमा धेरै मात्रामा बस्तिहरु रहेको,उच्च हिमाली क्षेत्रमा हिमताल तथा हिमश्रिंखलाहरु रहेको र पालिका क्षेत्रमा जलविद्युत आयोजनाहरु समेत निर्माणाधिन अवस्थामा रहेको अवस्थामा पालिकाले हिमताल तथा बाढी पूर्व सूचना प्रणालीको अवधारणा अघि सारेको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । यसका बारेमा प्राविधिक,स्थलगत र सम्भाव्यता अध्ययनलाई अघि बढाउने योजना रहेको बताउँदै पालिका अध्यक्ष लिम्बूले यस अवधारणालाई चाँडै प्रकृयामा लैजाने गरी पालिकाले सरोकारवालासंगको सम्बाद सुरु गरेको जानकारी दिनुभयो ।
पालिकाले पूर्व सूचना प्रणालीको जडान पछि जोखिमको पहिचान देखि सुरक्षित हुने उपायका बारेमा नागरिकमा शीघ्र रुपले जोखिमको सूचना प्रवाह देखि सुरक्षित स्थानान्तरणसम्मका उपाय अवलम्बन गर्न सहज हुने विश्वास लिएको छ । पूर्व सूचना प्रणाली अन्तरगत हिमतालमा जल सतह सेन्सर जडान भएमा हिमाली क्षेत्रमा रहेको ताल वा पोखरीमा स्वचालित जलसतह सेन्सर र मौसम मापन यन्त्र राखिने र यसले पानीको सतह,पानी बढ्ने गति र तापक्रमको निरन्तर मापन गर्ने छ । नदी तथा खोलामा समेत मापन यन्त्र राख्ने गरी पूर्व सूचना प्रणालीको अवधारणा अघि सारिएको छ । जसअनुसार हिमताल भन्दा तल खोलाको किनारमा अर्को स्वचालित मापनयन्त्र जडान गरिन्छ । उक्त यन्त्रमार्फत खोलाको पानीको सतह र बहाव बढेको वा नबढेको जाँच गरिन्छ ।
पालिकाले पूर्व सूचना प्रणाली अन्तरगत सञ्चार टावरमार्फत तथ्याङ्क पठाउन मिल्ने प्रणालीको विकास गर्ने अवधारणा पनि अघि सारेको छ । यस प्रणालीमार्फत सेन्सर र मौसम मापन यन्त्रमार्फत संकलित तथ्याङ्क सौर्य उर्जाबाट चल्ने रेडियो,मोवाइल नेटवर्क वा स्याटलाइट सञ्चार प्रणालीमार्फत गाउँपालिकाको नियन्त्रण कक्षमा पठाउने छ । पालिकामा रहेको आपतकालिन नियन्त्रण कक्षमा ताल तथा खोलाको अवस्था प्रत्यक्ष देखिने तथा पानी खतराको तहभन्दा माथि पुगेमा प्रणालीले स्वचालित चेतावनी दिने कार्य गर्छ । यसरी प्राप्त भएको सूचना विश्लेषण गरी आपतकालिन नियन्त्रण कक्षमा कार्यरत जनशक्तिले तत्काल सूचना प्रवाह गर्न सक्ने प्रणालीको अवधारणा पालिकाले अघि सारेको छ ।
पालिकाले पूर्व सूचना प्रणाली अन्तरगत खोला किनारमा साइरन बज्ने व्यवस्थाको अवधारणा पनि अघि सारेको छ । यो अवधारणा अनुसार खोला आसपासका जोखिमयुक्त बस्तिहरुमा साइरन टावर जडान गरिनेछन् । यि टावरमार्फत प्रवाह हुने जोखिम संकेत टाढासम्म सुनिने भएकोले मोवाइल नेटवर्कमा समस्या भएपनि जोखिमको सूचना प्रवाह सहज हुने पालिकाको विश्वास रहेको छ । जोखिम पूर्व सूचना प्रणाली अन्तरगत नागरिकलाई एकै समयमा सूचना दिन मोवाइल एसएमएस,फोना वा मोवाइल एपमार्फत सूचना प्रवाह,एफएम रेडियो,साइरन,स्थानीय विपद् स्वयंसेवकको माइक र प्रहरी तथा जनप्रतिनिधिहरुमार्फत पनि सूचना प्रवाह हुनसक्ने पालिकाले विश्वास लिएको छ ।