|

अल्लोको कपडाको प्रवर्धन गर्दै मैवाखोला

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २८ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अल्लोको कपडा प्रवर्धनको योजना अघि बढाएको छ । स्थानीय स्तरमै कपडा उत्पादन गर्ने र आम्दानीको स्रोत बनाउने गरी गाउँपालिकाले अल्लाको कपडा प्रवर्धन योजना अघि बढाएको हो ।
स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रशोधन गरेर उत्पादन गरिएको धागोबाट अल्लोको कपडा बुन्ने र स्थानीयको आम्दानीको स्रोत बनाउने पालिकाको योजना रहेको छ । अल्लोको कपडा प्रवर्धन योजनाअन्तर्गत स्थानीय उद्यमीलाई कपडा बुन्ने (निर्माण गर्ने) सीप विकास तालिम दिँदै आएको पालिकाले जनाएको छ ।
मैवाखोला गाउँपालिका उद्यम विकास शाखाकी प्रमुख जनम लङ्वाका अनुसार स्थानीय उद्यमीहरुलाई अल्लोको कपडा बुन्ने आधारभूत र एड्भान्स तालिम प्रदान गरिएको छ । पहिले अल्लोको कपडा बुन्ने आधारभूत तालिम प्राप्त गरेका उद्यमीलाई भर्खरै एड्भान्स अर्थात क्षमता अभिवृद्धि सीप विकास तालिम प्रदान गरिएको लङ्वाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अल्लोको कपडा उत्पादन गर्दै आएका १० जना महिलालाई एक महिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । उक्त एक महिने तालिम आइतबार सम्पन्न भएसँगै सोही दिन समापन कार्यक्रम आयोजना गरी सहभागी उद्यमीलाई प्रमाणपत्र वितरण गरिएको उद्यम विकास शाखा प्रमुख लङ्वाले बताउनुभयो । उहाँका अनुसार तालिमको प्रशिक्षक सीता राई हुनुहुन्थ्यो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू लगायतले तालिममा सहभागी भएका उद्यमीलाई प्रमाणपत्र वितरण गर्नुभएको छ । उद्यमीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै अध्यक्ष वनेमले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न र उद्यमलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
पछिल्लो समय अल्लोको कपडाको अत्यधिक माग रहेको र कपडाको मूल्य पनि राम्रै भएको पाइएको छ । अल्लोको कपडा स्थानीय वन जङ्गलमा पाइने भाङ्ग्रे सिस्नुको बोक्रालाई कच्चा पदार्थका रुपमा संकलन गरी प्रशोधन गरेर धागो उत्पादन गर्ने गरिन्छ । प्रशोधन गरिएको सिस्नुको बोक्राको धागोबाट अल्लोको कपडा उत्पादन गर्ने गरिएको छ ।

Similar Posts