फक्ताङलुङले मंसिर २ गते सिँवामा एआई प्रविधिद्धारा निःशुल्क रुपमा क्षयरोगको एक्स–रे परीक्षण गर्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले वडा नं ३ लिङखिममा मंसिर २ गते एआई प्रविधिद्धारा क्षयरोगको एक्स–रे परीक्षण गर्ने भएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार स्वास्थ्य चौकी सिँवामा यस्तो परीक्षण गर्न लागिएको हो । क्षयरोगको एक्स–रे परीक्षण निःशुल्क हुने पालिकाले जनाएको छ । पालिका अध्यक्ष लिम्बूले एक्स–रे परीक्षण गरी क्षयरोगको समयमै पहिचान गर्न र निदानतर्फ केन्द्रित हुन पालिकाबासीहरुलाई आग्रह गर्नु भएको छ । क्षयरोगको जोखिम न्यूनीकरण तथा समुदाय स्तरमै रोगको पहिचान गर्ने उद्देश्यले क्षयरोगको एक्स–रे परीक्षण शिविर आयोजना गरिएको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
दुई हप्ता भन्दा बढी लगातार खोकी लागेका व्यक्ति,दीर्घरोगी,जेष्ठ नागरिक तथा क्षयरोगको जोखिममा रहेका सम्पूर्ण नागरिकहरुलाई पालिकाले शिविरमा उपस्थित भई क्षयरोग भए नभएको पहिचान गरी क्षयरोगको पहिचान निदानका उपाय अवलम्बन गर्न समेत आग्रह गरेको छ । श्वास प्रश्वासको समस्या भएका दीर्घरोगी,कुपोषण भएका बालबालिका,शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका जस्तै एचआएईभी एड्स,मधुमेह र क्यान्सरबाट प्रभावित व्यक्ति र उमेर ढल्केका व्यक्ति क्षयरोगको उच्च जोखिममा रहेका हुनसक्छन् ।
जोखिम समूहमा धूमपान गर्ने व्यक्ति,लागु पदार्थ सेवन गर्ने व्यक्ति,मध्यपान सेवन गर्ने व्यक्ति,अंग प्रत्यारोपण गरेका व्यक्ति,क्षयरोगको सम्पर्कमा रहेका व्यक्ति र सिमेन्ट,ढुङ्गा,गिटी र वालुवाको काम गर्ने व्यक्ति समेत रहने अध्ययनले देखाएको छ । क्षयरोगको सम्भावित सूचीमा रहेका व्यक्तिले उक्त शिविरमा आई स्वास्थ्य परीक्षण गर्न र चिकित्कसकीय परार्मश लिन समेत फक्ताङलुङ गाउँपालिकाले लाभग्राहीलाई अनुरोध गरेको छ ।