ताप्लेजुङमा बिद्यार्थी कला प्रतिभा पहिचानको जिल्ला स्तरीय छनौट सम्पन्न
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २८ । बिद्यार्थी कला प्रतिभा तथा विज्ञान र ईञ्जिनियरिङ प्रतिभा पहिचानका लागि सोमवार ताप्लेजुङमा प्रतिभा प्रस्तुती छनौट कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङको आयोजनामा भएको पहिचान प्रतिभा अन्तरगत स्टिम(विज्ञान,प्रविधि,गणित,ईञ्जिनियरिङ)तर्फ फुङलिङस्थित भानुजन माविका बिद्यार्थीले आफुले तयार पारेको प्रविधि प्रर्दशन तथा प्रस्तुति गरेका थिए । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार पालिका स्तरीय प्रतिभा छनौट गरी पालिकाले गरेको सिफारिसका आधारमा प्रतिश्पर्धीलाई जिल्ला स्तरीय प्रतिभा प्रस्तुतीकरणमा संलग्न गराईएको थियो ।
पहिचान प्रस्तुती कार्यक्रममा बाद्यबादनतर्फ फुङलिङका एकजना सहभागी थिए । स्टिमतर्फ विज्ञानका एक ईञ्जिनियरिङतर्फ एक गरी फुङलिङका २, चित्रकलातर्फ फुङलिङ र आठराई त्रिबेणीका एक–एक,युगल नृत्यतर्फ पाथीभरा याङवरक र आठराई त्रिबेणीका एक–एक,गायनतर्फ फुङलिङ र आठराई त्रिबेणीका एक–एक,अभिनयनतर्फ मेरिङदेन र आठराई त्रिबेणीका एक–एक र कवितातर्फ फुङलिङ,पाथीभरा याङवरकका एक–एक गरी कुल १९ जना विद्यार्थीले बिधागत रुपमा आफ्नो प्रस्तुति दिएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार गायन र बाद्यबाधनतर्फ भरतकुमार गुरुङ र सुरोज मादेन,नृत्यतर्फ प्रिति थलङ,चित्रकलातर्फ निलम न्यौपाने,अभिनयतर्फ अर्जुन कटुवाल,कवितातर्फ घनश्याम भट्टराई र धर्म पौडेल तथा विज्ञान,प्रविधि,गणित,ईञ्जिनियरिङ प्रतिभातर्फ सरोज श्रेष्ठ र प्रदीप लुइँटेलले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । निर्णायकले दिएको नतिजाका आधारमा क्षेत्रीय स्तरीय प्रतिभा पहिचानका लागि छनौट भएका बिद्यार्थीहरुलाई सम्वन्धित पालिका,सम्वन्धित बिद्यालय र सम्वन्धित बिद्यार्थीलाई जानकारी गराई पूर्व तयारीको कार्यक्रम सुरु गर्ने योजना रहेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
पालिकाका शिक्षा अधिकृत समेतको संलग्नतामा पालिका स्तरीय प्रतिभा पहिचान गरी जिल्ला स्तरीय प्रतियोगिताका लागि पत्राचार गरिएकोमा कतिपय पालिकाबाट प्रतिभा पहिचानका लागि पालिका स्तरीय छनौट समेत नगरिएको र जिल्लागत सहभागिताका लागि पनि नपठाईएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । ७ वटा बिद्यामा प्रतिभा पहिचानको जिल्ला स्तरीय प्रतियोगिता गराईएको समेत शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।